

काठमाडौं- लायन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टरले नुवाकोटमा रहेको शान्तिदेवी प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लबका भूतपूर्व अध्यक्ष बालरोग विशेषज्ञ डाक्टर महेश कुमार गौतमको सम्झनामा विद्यार्थीलाई स्टेशनरी तथा झोला वितरण गरिएको हो ।

‘ज्ञानको उपहार’ नारा दिइएको उक्त कार्यक्रम विद्यार्थीलाई नियमित विद्यालय जान प्रोत्साहन गर्नका लागि आयोजना गरिएको क्लबकी अध्यक्ष डा. एलिना कार्कीले बताइन् । उनका अनुसार सोही अवसरमा विद्यालयका भित्तामा प्रेरणादायी पेन्टिङमा पनि गरिएको थियो ।

क्लबका चार्टर अध्यक्ष तथा ‘डिस्ट्रिक ३२५ जी’का क्लस्टर ३ अध्यक्ष डा. तेजसु सिंह मल्लका अनुसार विद्यार्थीहरुको आँखा चेकजाँच पनि गरिएको थियो । त्यस्तै एकजना जेहेन्दार विद्यार्थीलाई छात्रवृति पनि प्रदान गरिएको क्लबकी सचिव डा. निरा पाठकले जानकारी दिइन् । उनका अनुसार कक्षा ३ मा अध्ययनरत मञ्जु परियारलाई ‘लायन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टरर्स, डा. महेश गौतम मेमोरियल स्कोलसिप’ प्रदान गरिएको थियो ।

उक्त छात्रवृति क्लबकी कोषाध्यक्ष अस्बीना केसीले प्रायोजन गरेकी थिइन् ।
लियो क्लब अफ काठमाडौं रेडियन्स मेडिकल स्टूडेन्ट, लायन्स क्लब अफ काठमाडौं रेज तथा लायन्स क्लब अफ मेरो नेपालको सहयोगमा आयोजना गरिएको सो कार्यक्रममा बोल्दै क्लबका निर्वतमान अध्यक्ष डा रविन बस्नेतले आगामी दिनमा पनि यस्तै कार्यक्रम जारी राख्ने बताए ।

लायन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टरमा हाल एक सय जनाभन्दा बढी सदस्य आवद्ध रहेका छन् । क्लबको स्थापना लायन्स वर्ष २०२०–२०२१ मा भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय लायन्सबाट अवार्ड पाइसकेको यो क्लब शतप्रतिशत डाक्टर मात्रै आवद्ध भएको विश्वकै पहिलो क्लब हो ।