कैलाली- कैलालीको टीकापुरबाट करिब एक हजार किलो महसहित पक्राउ परेका १६ जना भारतीयविरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रयोगशालामा परीक्षण गर्दा उक्त मह दूषित रहेको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
१५ जनाविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार र नाबालक भएकाले एकजनाविरुद्ध बालबालिकासम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकारी एवम् सूचना अधिकारी सुमन लामीछानेले बताए ।
टीकापुर प्रहरीले टीकापुरको एक होटेलबाट उनीहरुलाई गत मंसिर १६ गते नौ सय ४७ किलो चाकासहितको महसहित पक्राउ गरेको थियो । मिसावटयुक्त मह बिक्री गरेर ठगी गरिरहेको गुनासोका आधारमा टीकापुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
महमा मानिसको स्वास्थ्यलाई हानी हुने रसायन मिसावट गरेको पाइएको खाद्यले जनाएको छ । यस्तै चालु आर्थिक वर्षको साउनयता आठ वटा व्यवसायीक फमलाई कारबाहीको दायरामा ल्याइएको उनले जानकारी दिए ।