काठमाडाैं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशन नमानेर फेसबुकबाट जवाफ फर्काएपछि स्वास्थ्य मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीलाई स्पष्टीकरण सोधेको छ । विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको सट्टा फेसबुकबाट जवाफ फर्काएको आरोपमा मन्त्रालयले डा. केसीलाई स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयले शुक्रबार पत्र काट्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको हो । ‘मन्त्रालयले आफैं निर्देशक जस्तो जिम्मेवारीपूर्ण पदमा आसिन कर्मचारीले सार्वजनिक सरोकारका विषयहरु सामाजिक सञ्जाल (फेसबुक)मा के कति कारणले लेखिएको हो ? सोको स्पष्ट जानकारी पछिसम्म फरक नपर्ने गरी आजको मितिले तीन दिनभित्र स्पष्टीकरणसहित मन्त्रालय पेश गर्न निर्णयनुसार अनुरोध छ,’ स्पष्टीकरण पत्रमा लेखिएको छ ।
गत बुधबार वैद्यखानाको निरीक्षणमा पुगेका मन्त्री पौडेलले पदाधिकारी तथा कर्मचारीहरुलाई उत्पादन बढाउन र संस्था सुधार गर्न निर्देशन दिएका थिए । मन्त्रालयले पुँजीगत क्षमता विकासका लागि मन्त्रालयले सघाउने तर, उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपदान दिन नसक्ने बताएका थिए ।
मन्त्री पौडेलले तीन दिनभित्र समस्या समाधान गरी उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई निर्देशन दिएको १२ घण्टा पनि नबित्दै वैद्यखानाका निर्देशक डा. प्रदीप केसीले सामाजिक सञ्जालमार्फत पाँचबुँदे समस्या देखाउँदै ती समाधान नभएसम्म कुनै पनि उत्पादन हुन नसक्ने बताएका थिए ।