

काठमाडाैं- नेपाल चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८१/०८२ का लागि नेपालमा एमबीबीएस अध्ययनका लागि १ हजार ५४४ सिट संख्या तोकेको थियो । एमबीबीएस अध्ययन गर्ने इच्छाले प्रवेश परीक्षा दिनेमध्ये ७ हजार ८४७ विद्यार्थी उत्तिर्ण भए । तर, नेपालमा सिट संख्या कम भएकाले सफल भएकामध्ये ६ हजार ३५६ जना अर्थात् ८१ प्रतिशत योग्य विद्यार्थी विदेशिनुपर्ने अवस्था आएको छ ।
योग्यताक्रममा परेका १९ प्रतिशत विद्यार्थीका लागि मात्रै नेपालमा भर्ना सिट भएकाले उनीहरु विदेश जानुपर्ने बाध्यता आइलागेको आयोगको तथ्यांकले देखाएको छ । तथ्यांकका आधारमा एमबीबीएस पढ्ने इच्छा हुँदाहुँदै पनि योग्य विद्यार्थी बाहिरिनु परेको हो ।
चिकित्सा शिक्षा आयोगको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा ७ सयको हाराहारीमा एमबीबीएस पढ्ने विद्यार्थी बाहिरिएका थिए । भने, स्नातककोत्तर तह अध्ययनका लागि २६६ जना विदेशिएका थिए । आयोगका अनुसार एक विद्यार्थीले आफ्नो अध्ययन पूरा गर्दासम्म विदेशमा करिब १ करोड खर्च गरेको हुन्छ । त्यसै तथ्यांकलाई आधार मान्ने हो भने यो वर्ष नेपालमा पढाईबाट वञ्चित भएका विद्यार्र्थी एमबीबीएस पढ्न विदेश जाने हो भने ६५ अर्ब ५६ करोड रकम बाहिरिने अवस्था आउँछ ।
विस २०७१ भन्दा अगाडि भने यो अवस्था थिएन । त्यसअघि नेपालका मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको १५० सम्मको सिट क्षमतामा विद्यार्थीहरुलाई अध्यापन गराउँदै आउका थिए । तर, क्षमताको विस्तृत अध्ययन नगरी सिट संख्या अधिकतम् १ सयमा घटाईँदा विद्यार्थी तथा मेडिकल कलेज मर्काका परेका छन् । त्यसो हुँदो कतिपय मेडिकल कलेजहरु बन्द हुने अवस्थामा समेत पुगिसकेका छन् ।
आयोगको तथ्यांक अनुसार हाल नेपालका ७३ वटा नर्सिङ कजेल बन्द अवस्थामा छन् । यस्तै १३६ प्राविधिक शिक्षालय बन्द अवस्थामा छन् । भने, २३६ शैक्षिक कार्यक्रम बन्द भएका छन् । त्यसको प्रत्येक्ष असर देशको अर्थतन्त्रमा परेको छ । ती कलेज बन्द हुँदा ४ हजार ९११ जनाले रोजगारी गुमाएका छन् भने, १० अर्ब २६ करोड लगानी डुबेको छ । यस्तै २५ करोडको हाराहारीमा छात्रवृति गुमेको आयोगको तथ्यांक छ ।
नेपालले क्यूबाबाट के सिक्ने ?
क्यूबा विश्वमै सबैभन्दा बढी चिकित्सक उत्पादन गर्ने देश हो । त्यहाँ अध्ययन गरेका ५० हजारभन्दा बढी नागरिक हाल विश्वका ६७ भन्दा बढी देशहरुमा कार्यरत छन् । त्यसरी क्यूबाले स्वास्थ्य क्षेत्रबाट पनि मुख्य आम्दानी गरिरहेको छ । अन्तर्राष्ट्रिय चिकित्सा सहयोगबाट उक्त देशले वार्षिक ७ अर्ब डलरभन्दा बढी आम्दानी गरिरहेको छ । यो तथ्यांकलाई आधार मान्ने हो भने नेपालले पनि क्यूबाजस्तै नेपालमा अध्ययन गरेका विद्यार्थीलाई अन्तर्राष्ट्रिय अवसर सृजना गर्नसक्छ । जसका कारण नेपालले आफ्नो अर्थतन्त्रमा पनि ठूलो सुधार ल्याउन सक्ने जानकारहरु बताउँछन् ।
यो विषयमा प्राइभेट मेडिकल तथा डेन्टल कलेज एशोसियसनका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सरकारले नेपालमै सिट संख्या बढाउनु आवश्यक रहेको बताएका छन् । ‘सबैभन्दा ठुलो कुरा एउटा अभियान्ताको लहडमा लागेर १५० बाट घटाएर सिट संख्या एक सयमा घटाउनु दुःखद हो । सरकारले सिट संख्या बढाउने प्रयास नै गरेन । एमबीबीएस पढ्न योग्य विद्यार्थीमध्ये ८१ प्रतिशतलाई पढाउन नसकौंला । तर आधा विद्यार्थीलाई त रोक्न सकिन्छ नि’ उनले भने ।
उनले नेपालमै अध्यापन गराउने अवस्था सृजना भएमा बाहिर जाने रकम बचाउन सकिने तथा विदेशी विद्यार्थीलाई भित्राएर देशको अर्थतन्त्र बलियो बनाउन सबैले प्रयास गर्नुपर्ने बताएका छन् ।
यस्तै चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष डा. अन्जनी झाले सरकारले नेपालमा मेडिकल कलेज थप्ने क्रम जारी राखेकाले त्यो समस्या छिट्टै समाधान हुने बताए । गत वर्ष तीन वटा सरकारी तथा एउटा निजी मेडिकल कलेज खुलेकोमा त्यो बढाएर लग्ने उनले बताए ।
‘गतवर्ष राप्ती, पोखरा, मधेस प्रतिष्ठान र एउटा निजी मेडिकल कलेज खुलेका थिए । अब आवश्यकता अनुसार सरकार मेडिकल कलेज थप्ने मानसिकतामा रहेको छ’ उनले भने ।



