

धनगढीः- सुदूरपश्चिममा करोडौंका ट्रक एम्बुलेन्स अलपत्र बनेर थन्किएका छन् । सुदूर पहाडमा सेवा दिन भन्दै पठाइएका एम्बुलेन्स फिर्ता आएपछि अलपत्र रुपमा थन्किएको बताइएको छ ।
सुदूरपश्चिम सरकारले सामाजिक विकास मन्त्रालयमार्फत ६ करोड २५ लाख १२ हजार रुपियाँमा १६ वटा एम्बुलेन्स खरिद गरेर अस्पतालसहित अन्य स्वास्थ्य संस्थालाई २०७६ कात्तिकमा हस्तान्तरण गरेको थियो ।
स्वास्थ्य क्षेत्रमा सुधारका लागि दिइएको एम्बुलेन्स प्रयोगमा ल्याउन समस्या भएपछि मन्त्रालयमै फिर्ता पठाउन थालिएको हो । बारम्बार एम्बुलेन्स बिग्रिदा मर्मत गर्नै समस्या भएको पालिकाहरुले बताएका छन् । सुदूरपश्चिमका समाजिक विकास मन्त्री मेघराज खड्काले पहाडी जिल्लाबाट एम्बुलेन्स फिर्ता आउने क्रम जारी रहेको बताए ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका साँघुरो बाटोमा चलाउन समस्या भएको र मर्मत खर्च धेरै आएको भन्दै बझाङको छविसपाथिभेरा गाउँपालिकाले एम्बुलेन्स फिर्ता गरेको थियो । प्रदेश सरकारले टाटा कम्पनीको ४०७ मोडेलको मिनी ट्रकलाई एम्बुलेन्स भन्दै नेपाल सरकारबाट भन्सार कर छुट गराएर खरिद गरेको थियो ।
बैतडीको पञ्चेश्वर गाउँपालिका, डिलासैनी, बझाङको केदारेस्युँ, बाजुराको बुढीगङ्गा नगरपालिकास्थित टाटे स्वास्थ्य चौकी, डडेल्धुराको नवदुर्गा गाउँपालिकाले एम्बुलेन्स फिर्ता गरेका छन् । यस्तै, जिल्ला अस्पताल अछाम र डोटीले पनि एम्बुलेन्स फिर्ता गरेका छन् ।
पहाडी जिल्लाहरुबाट एम्बुलेन्स फिर्ता आउन थालेपछि समाजिक विकास मन्त्रालयले, कैलाली र कञ्चनपुरका स्थानीय तहहरुमा वितरण गर्ने गरेको छ। तर, सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स पनि थन्किएको छ । समाजिक विकास मन्त्रालय, सेती प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल, स्वास्थ्य कार्यालय, कैलाली लगायतको क्षेत्रमा ट्रक एम्बुलेन्सहरु थन्किएका छन् ।
पुरानो मोडलका ट्रकहरु मर्मत खर्च र इन्धन खर्च धेरै भएपछि फिर्ता गरिएका छन्। समाजिक विकास मन्त्री खड्काले खरिदप्रक्रियामा गुणस्तर न्यून रहेको विषयमा नबोल्ने बताए । प्रदेश सरकारले वितरण गरेका ट्रक एम्बुलेन्सले इन्धन बढी खपत गर्ने र बढी खराब हुने समस्या छ ।
एम्बुलेन्स बिग्रेपछि खर्चिलो र पहाडी जिल्लाका लागि अनुपयुक्त भएपछि एम्बुलेन्स पाएका स्वास्थ्य संस्था र पालिकाले फिर्ता गरेका हुन् ।



