काठमाडौं– दाँत उपचार र दन्त चिकित्सा शिक्षाको क्षेत्रको अग्रणी संस्था कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ्ग हस्पिटल, बसुन्धरा, काठमाडौं आफ्नो स्थापनाको १७औं वर्ष पुरा गरि १८ औं वर्षमा प्रवेश गरेको छ ।
सन् २००७, १६ डिसेम्बरबाट सेवा सुरु गरेको कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौं विश्वविद्यालयद्धारा सम्वन्धन प्राप्त र नेपाल मेडिकल काउन्सिल तथा चिकित्सा शिक्षा आयोगको स्वीकृतिमा सञ्चालित रहेको छ ।
स्थापनाकालदेखि हालसम्म यस शिक्षण अस्पतालले एक लाख पचास हजार भन्दा बढी दन्त स्वास्थ्यका बिरामीहरुलाई सेवा दिएको संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. बुद्धिमान श्रेष्ठले बताए ।
त्यसैगरी दन्त शिक्षातर्फ ब्याचलर ईन डेन्टल सर्जरी बीडीएस तर्फ ४०० जना र मास्टर इन डेन्टल सर्जरी (एमडीएस) तर्फ ४४ जना विशेषज्ञहरु उत्पादन गरेको अध्यक्ष डा श्रेष्ठले जानकारी दिए ।
हस्पिटलले प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदको सम्वन्धनमा सन् २०१२ देखि सञ्चालित डिप्लोमा ईन फार्मेसी तर्फ ३७४ जना तथा सन् २०१३ देखि सञ्चालित सर्टिफिकेट इन डेन्टल साइन्सतर्फ ३०१ जना प्रबिधिकहरु उत्पादन गरिसकेको समेत उनले बताए ।
कलेजले आफ्नो शैक्षिक कार्यक्रम तर्फ गत शैक्षिक वर्षदेखि चार वर्षे बीएस्सी इन ल्यावोरोटरी मेडिसिन (बीएस्सी–ल्याबमेड) पनि सुरु गरेको छ ।
केडीसीका हस्पिटल डाइरेक्टर डा प्रतिक्षा श्रेष्ठले पछिल्लो एक वर्षमा ६७ हजार ५०० जना दाँतका बिरामीहरुलाई उपचार सेवा प्रदान गरिएको जानकारी दिइन् ।
केडिसीले २०७० सालदेखि एक सय शैयाको जनरल हस्पिटल समेत सञ्चालनमा ल्याएको छ भने आँखा उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ ।
अध्यक्ष डा. श्रेष्ठले यस अवधीमा जनताको मुख स्वास्थ्यमा सुधार ल्याउन अस्पिटलले देशका ६७ जिल्लाहरुमा पुगी मुख तथा दन्त स्वास्थ्य सम्वन्धी जनचेतना तथा निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर, विद्यालय दन्त स्वास्थ्य शिक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयं सेविका, शिक्षक, सांसद, मातृ शिशु कार्यकर्ता तथा हेल्थपोष्ट प्रमुखहरुलाई मुख तथा दन्त स्वास्थ्य अभिमुखिकरण तालिम समेत सञ्चालन गर्दै आएको बताए ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार संसारमा सबैभन्दा बढी समस्या मुख स्वास्थ्यको रहेको छ भने नेपालमा अझै पनि करिव ८० प्रतिशत मानिसहरुले दन्त उपचार सेवा पाउन सकेका छैनन् ।
डा श्रेष्ठले दन्त स्वास्थ्य उपचारमा पहुँच नरहेको र निम्न आयश्रोत भएका ग्रामिण भेगका जनताहरुलाई निकै खर्चिलो मानिने यस उपचारलाई ‘प्रिभेन्सन इज बेटर देन क्युर’ को अवधारणा अन्तर्गत ग्रामिण भेगमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्नु आवश्यक रहेको बताए ।
हाल नेपालमा ४ हजार ८ सय ८३ जना दन्त चिकित्सकहरु तथा ७ सय ५६ जना दन्त बिशेषज्ञ नेपाल मेडिकल काउन्सिलमा दर्ता भएपनि करिब ६० प्रतिशत मात्र नेपालमा कार्यरत रहेका छन् । त्यस्तै करिब २ हजार डेन्टल हाइजेनिष्टहरु रहेका छन् । यसले करिव ३ करोड नेपालीहरुलाई सेवा पुर्याउन गाह्रो भएको डा श्रेष्ठले बताए ।