

काठमाडौं – जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पठनपाठन तालाबन्दीको कारण दुई हप्तादेखि प्रभावित भएको छ । शिक्षक र कर्मचारीहरूले बढुवाको माग गर्दै प्रतिष्ठानको शैक्षिक भवन र प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन् ।
दुई सातादेखि प्रतिष्ठानको शैक्षिक भवन, उपकुलपति डा मङ्गल रावल, रजिष्ट्रार नृपेन्द महत र रेक्टर डबलबहादुर धामीको कार्यकक्षमा ताला लगाइएको छ । ५८ जना शिक्षक र कर्मचारी लामो समयदेखि बढुवा नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बढुवाको नियुक्ति पत्र प्राप्त नहुँदासम्म ताला नखोल्ने धम्की दिएका छन् ।
लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढाउनु, कर्मचारीको पक्षमा अदालतले गरेको फैसला कार्यान्वयन गर्न नमान्नु, कार्यकारी परिषद्ले सभा बैठकमा लिएको स्तरोन्नतिको प्रस्तावमा सैद्धान्तिक सहमति दिँदा समेत पहल अघि नबढ्नुजस्ता कारण देखाएर तालाबन्दी गरिएको छ ।



