
-प्रवेश केसी, डेन्टल सर्जन
हाम्रो शरीरमा आइपर्ने विभिन्न समस्यामध्ये मुखको समस्या पनि एक हो । हेर्दा यो सामान्य लाग्ने भएता पनि यसले भविष्यमा ठुलो समस्या निम्त्याउन सक्छ । ओरल हेल्थ अर्थात् मुख स्वास्थ्यबारे धेरैले हेलचेक्राई गरेका हुन्छन् । ओरल हेल्थ दाँत र गीजासँग मात्र सम्बन्धित नभएर टाउकोदेखि खुट्टासम्मका विभिन्न नशा तथा अंगसँग सम्बन्धित हुन्छ ।
नेपालमा अझैपनि दाँतमा किराले खाएपनि दुखेको छैन किन परीक्षण गराउनुपर्यो भन्ने धारणा रहेको छ । दुखेको बेला पनि पेन किलर खाने तर अस्पताल नजाने चलन छ । अझै बढी दुखेको अवस्थामा दाँत नै निकालेर फालिदिउँला भन्ने सोच राखेर बसेका मानिसहरु हुन्छन् ।
यो गाऊँ घरमा मात्र नभएर सहरमा बसेका पढेलेखेका व्यक्तिले पनि सोच्ने गरेका छन् । यो सोचाइ एकदमै गलत सोचाइ हो । दाँतको समस्याले मुख मात्र नभइ शरीरका विभिन्न अंगलाई समेत असर गर्छ ।
मुख स्वास्थ भनेको मुखको स्वास्थ मात्र नभइ हाम्रो शरीरको पूरै स्वास्थ्यसँग सम्बन्धित रहेको हुन्छ । सामान्य किराले मात्र खाएको अवस्थामा पाँच सयदेखि १५ सयसम्म खर्च लाग्छ र दुखाइ पनि कम हुन्छ । छोटो समयमा निको हुन्छ । तर, यसलाई समयमा उपचार नगरी हेलचेक्राई गरियो भने खर्च धेरै लाग्ने गर्छ ।
जराको उपचार गर्दा दुखाइ बढी हुनुका साथै निको हुन लामो समय लग्छ । दाँतको समस्या बढ्दै गएर ठूलो रुप लिएको अवस्थामा दाँत त निकाल्नु पर्छ नै । हड्डी पनि काटेर फाल्नुपर्ने हुन्छ । यसले हाम्रो मुखको आकार बिग्रिनुका साथै हाम्रो आत्मविश्वास पनि घट्ने गर्छ । यो समस्या आफ्नै हेलचेक्राईको कारणले उत्पन्न हुने गर्छ ।
भविष्यमा यस्तो समस्या आउन नदिन हामीले हरेक ६ ६ महिनामा डेन्टलमा गएर दाँतको परीक्षण गराउनुपर्छ ।


