

काठमाडौं- सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद गरी चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी बर्दिबासबाट खटी गएको सुरक्षा टोलीले बुधवार राति बर्दिबास ३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी लिएको थियो । तलासीका क्रममा एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाएको अवस्थामा ब्राउन सुगर बरामद भएको डीएसपी रेवतीरमण पोखरेलले बताए ।
ब्राउन सुगर कारोबारमा अन्यको पनि संलग्नता हुन सक्ने प्रहरीको आशङ्का छ । थप अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले चालकसहित पक्राउ परेका दुवै जनाको नाम सार्वजनिक गरेको छैन ।



