

काठमाडौं- काठमाडौं महानगरपालिकाले निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गर्ने भएको छ । आउँदो हप्तादेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रबर्द्धन केन्द्रमा सेवा सुरु गर्न लागेको महानगरले जनाएको छ ।
सुरुमा वडा नं. १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नं. १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं. १२ मा, मंगलबार र बुधबार वडा नं. १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं. २७ मा र बिहीबार र शुक्रबार वडा नं. १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रबर्द्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स रे मेसिन राखिएको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ ।
स्वास्थ्य विभागले नसर्ने खालका रोगको पहिचानका लागि मधुमेह, उच्च रक्तचाप र दीर्घ मिर्गौला रोगको जाँच सुरु गरेको छ। स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. का अनुसार निदानात्मक स्वास्थ्य सेवाको प्रबर्द्धनका ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आँकलन गर्ने तथ्याङ्क तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने महानगरपालिकाको योजना छ ।



