

काठमाडाैं- नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तह (पिजी) को एमडी/एमएस अध्ययन गर्ने आवासीय चिकित्सकहरुलाई सरकारी सेवाका आठौं तहका मेडिकल अफिसर सरह निर्वाह भत्ता दिनुपर्ने अडान कायम राखेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले आफूले उठाएको मागप्रति चिकित्सा शिक्षा आयोग सकारात्मक रहेकाले आयोगको उक्त निर्णय कार्यान्वयन गर्न माग गरेको हाे ।
‘संघले उठाएको मागप्रति चिकित्सा शिक्षा आयोगले सकारात्मक पहल गर्दै स्नाकोत्तर तह (पिजी) को एमडीरएमएस अध्ययन गर्ने आवासीय चिकित्सकहरुलाई सरकारी सेवाका आठौँ तहका मेडिकल अफिसर सरह रु ४८,७३७ निर्वाह भत्ता स्वरूप उपलब्ध गराउने निर्णय स्वागतयोग्य रहेको संघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ, ‘ पिजी अध्ययनरत आवासीय चिकित्सकहरू कक्षामा बसेर पढ्ने सामान्य विद्यार्थी जस्तो नभई अस्पतालमा दिनरात काम गरेर अभ्यासद्वारा सीप हासिल गर्ने जनशक्ति भएकाले सो काम गरेवापत निर्वाह भत्ता आठौँ तहका मेडिकल अफिसर सरह नै हुनुपर्ने कुरामा नेपाल चिकित्सक संघको अडान रहेको छ । यसका साथै चिकित्सकहरुले अध्ययनको लागि छुट्टै २३ लाख शुल्क तिर्नुपर्ने यथार्थ रहेको र आवासीय चिकित्सकहरुले बस्नको लागि आवास पनि नपाउने वर्तमान परिस्थितिमा माथि उल्लेखित निर्वाह भत्ता चिकित्सकको जीविकाको लागि अनिवार्य रहेको कुरालाई नकार्न सकिंदैन ।’
संघले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चरम तनावका बावजूद अहोरात्र सेवामा खटिने पिजी अध्ययनरत चिकित्सकहरुलाई कामअनुसारको भत्ता उपलब्ध नगराउनुले उनीहरुमाथि ठुलो अन्याय हुने ठहर गरेको छ ।




