

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्ने बताएका छन् ।
आइतबारदेखि काठमाडौंमा सुरु भएको पश्चिम एशियाली क्षेत्रको फोरम फर इथिकल रभ्यू कमिटि इन द एशिया एण्ड वेस्ट्रेन प्यासिफिक रिजन ( फेरक्याप) को २४ औं शिखर सम्मेलनमा सोमबार सम्बोधन गर्दै उनले स्वास्थ्य सेवा प्रणालीलाई विश्वासिलो बनाउनुपर्नेमा जोड दिएका हुन् । मन्त्री पौडेलले स्वास्थ्य प्रणालीलाई जिम्मेवार र जबाफदेही बनाउँदै लैजान आवश्यक रहेको बताए ।
उनले स्वास्थ्य प्रणालीलाई थप वैज्ञानिक बनाउनुपर्ने पनि बताए । उनले स्वास्थ्य अनुसन्धानमा गर्ने कामले लाखौँ मानिसहरू प्रभावित हुने भन्दै अनुसन्धान गर्दा नैतिक अभ्यासको महत्त्व बुझ्न जरुरी रहेको उल्लेख गरे । उनले स्वास्थ्य अनुसन्धान अभ्यासहरू सुधार गर्ने यात्रा जारी रहेको बताए ।
मन्त्री पौडेलले नेपालमा स्वास्थ्य अनुसन्धानको भविष्य आजको कामले निर्धारण गर्ने बताए । नैतिक, जिम्मेवार र समावेशी अनुसन्धान वातावरण सिर्जना गरी एक भएर काम गर्न उनले आह्वान गरे । विश्वव्यापी स्वास्थ्यको सुधारका लागि एक भएर काम गर्न उनले आह्वान गरे ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हिजो मंसिर ९ गते देखि सुरु भएको सम्मेलन १२ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माता, प्राज्ञिक प्रतिनिधि र विद्यार्थीहरु सहभागी छन् । सम्मेलनमा विश्वका विभिन्न २३ देशका २ सयभन्दा धेरै अनुसन्धाता र सरोकारवाला सहभागी भएको परिषदका सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिए ।



