

काठमाडाैं- डा. आशिष दाहाल पाटन अस्पतालमा कार्यरत थिए । त्यो सँगै उनी केही निजी अस्पतालमा पनि काम गर्थे । उनको जीवन सहजै चलिरहेको थियो, तरको एउटा कुलतले उनलाई जेलखानासम्म पुर्या एको छ ।
उनलाई सट्टेबाजी गर्ने नराम्रो लत लागेको थियो । सोही कुलतका कारण उनले अनलाइन जुवामा ४० लाख रुपैयाँभन्दा बढी हारिसकेका थिए । त्यति ठुलो रकम जुवामा गुमाइसकेपछि उनले पैसा असुल्ने एउटा जुक्ति निकाले ‘एक्सट्रोसन’ को धन्दा अर्थात् ज्यान मार्ने धम्की दिएर पैसा असुली ।
जुवामा हारेको पैसा असुल गर्नकै लागि उनले धम्की र ठगीको बाटो रोजेका थिए । त्यसका लागि उनले सबैभन्दा पहिले क्लिनिकमा जागिर खुलेको भन्दै विज्ञापन गरे । विज्ञापन देखेर अन्तर्वार्तामा आएका युवायुवतीको सीभी र नागरिकता आफूसँग राखे । त्यही नागरिकताको भरमा नक्कली सिम निकाले । अनि सर्वसाधारणलाई फोन गरी धम्की दिन थाले ।
उनी आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट भएको बताउँदै धम्की दिन्थे । उनी बजारमा रहेका होर्डिङ बोर्डमा भेटिने फोन नम्बरहरूमा कल गर्दै ५० हजारदेखि दुई लाख रुपैयाँसम्म माग्थे । उनले रकम नदिए बिहारका सिरियल किलर लगाएर मार्छु भन्दै धम्की दिने गरेको अनुुुसन्धानबाट खुलेको छ ।
उनले गरेको कर्तुतको बारेमा प्रहरीमा उजुरी परेको थियो । उजुरीपछि अनुसन्धान गर्दा ह्वाट्सएपबाट सर्वसाधारणलाई धम्की दिई ठगी प्रयास गरेको आरोपमा भोजपुर घर भई हाल ललितपुर बस्दै आएका ३२ डा दाहाल पक्राउ परेका थिए । डा. आशिष दाहाललाई मङ्गलबार ग्वार्को ललितपुरबाट नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धानका प्रवक्ता एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा डा दाहालले आफूले १९ जनाभन्दा बढीलाई धम्की दिएको स्वीकार गरेका छन् । उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।



