

नेपालगन्ज- भेरी अस्पताल नेपालगन्जमा हाइड्रोसेफलसबाट पीडित १५ महिने बालकको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
चिकित्सकीय भाषामा यसलाई भेन्ट्रिकुलोपरिटोनियल (भिपी) शंट शल्यक्रिया भनिन्छ । सल्यान वागचउर नगरपालिका –७ सानागाराकोटका १५ महिने कृष्ण परियार खेल्ने क्रममा दुई महिनाअघि घरको पेटीबाट लडेर घाइते भएका थिए ।
खाना खाने वित्तिकै वान्ता हुने र आँखा समेत नदेख्ने समस्या भएपछि सल्यानबाट थप उपचारका लागि परियारलाई नेपालगन्ज ल्याइएको थियो । सिटि स्क्यानमा मस्तिष्कमा पानी जमेको पाइएपछि भेरी अस्पतालको न्यूरो विभागको टिमले शल्यक्रियाको निष्कर्ष निकालेको थियो ।
सोही अनुसार कात्तिक –८ गते न्यूरोजर्सन डा. सुवोध गौतम नेतृत्वको टिमले शल्यक्रिया गरेको थियो । मस्तिष्कको भेन्ट्रकल्सबाट मेरुदण्डसम्म पुग्नु पर्ने तरल पदार्थ मस्तिष्कभित्र असामान्य अवस्थामा जम्मा हुनुलाई हाइड्रोसेफलस भनिन्छ । मस्तिष्कको भेन्ट्रकल्सबाट मेरुदण्डसम्म पुग्नु पर्ने यो तरल पदार्थले मस्तिष्कका लागि पोषक तत्व वितरण र फोहोर हटाउने प्रणालीको रुपमा काम गर्दछ ।
टाउकोमा चोट लागेका ती बालकको उपचारका क्रममा इन्फेक्सन भएको अनुमान गरिएको छ ।
१



