

चितवन- नेपाल चिकित्सक सङ्घ (एनएमए) केन्द्रीय समितिको आयोजनामा चितवनको भरतपुरमा प्रथम एनएमए स्पोर्टस फेस्ट सुरु भएको छ ।
हिहो भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रतियोगिताको उद्घाटन गरेकी छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले चिकित्सकहरूले व्यस्त जीवनशैलीका बाबजुद पनि स्वस्थ बन्नका निम्ति खेलकुद अत्यावश्यकीय हो भन्ने कुरा महसुस गर्दै कार्यक्रम आयोजना गरिएकामा धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्कीले सङ्घ विसं २००७ मा स्थापित नेपालको पुरानो संस्था भएको चर्चा गर्दै चिकित्सकहरूलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराएर नयाँ कामको थालनी गरेको बताए । पहिलो पटक यस्तो प्रकारको खेल कार्यक्रम आयोजना गरिएको बताउँदै अध्यक्ष डा कार्कीले आगामी दिनमा निरन्तरता दिने बताएका थिए ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले खेलले स्वास्थ्य मात्र नभएर धैर्यता, भ्रातृत्व जस्ता धेरै कुरा सिकाउने बताए। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले चिकित्सकहरूको व्यस्त जीवनमा समय मिलाउन उत्तिकै चुनौतीपूर्ण हुने अवस्थामा यस्तो कार्यक्रम हुनु अत्यन्तै महत्वपूर्ण रहेको बताएका थिए ।
महासचिव डा तिवारीका अनुसार शनिबारसम्म हुने प्रतियोगितामा क्रिक्सल, फुट्सल, भलिबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन, चेस र पौडी प्रतियोगिता हुने हुनेछन् । प्रतियोगितामा विभिन्न अस्पतालबाट समूहगत तथा व्यक्तिगत रुपमा चिकित्सक, स्वास्थ्यकर्मीहरू सहभागी थिए ।



