एन्जाइटीलाई हामी नेपालीमा घबराहट पनि भन्ने गर्छौं । एन्जाइटी भनेको चाहीँ मानसिक समस्या त हो तर, यसका कतिपय शारीरिक लक्षण र संकेतहरु पनि देखिन्छन् । यसले मानिसको टाउकोदेखि खुट्टासम्म असर गर्नसक्छ ।
जस्तो मुटुमा देखिने लक्षणको कुरा गर्दा, मुटु ढुकढुक हुने, छातीमा केही भारी राखिदिएको जस्तो हुने, जसलाई ‘चेस्ट टाइटनेस’ पनि भनिन्छ । यति हुँदैमा कतिले यसलाई ‘हार्टअट्याक’ सोच्छन् । या मुटुको क्लिनिक वा अस्पतालमा जाने गर्छन । गएर जाँच गराउनु राम्रै हो तर, त्यहाँ केही समस्या छैन भनेपछि मानिस घर फर्किएर बस्ने तर, एन्जाइटीको चाहीँ परीक्षण नभएर पत्ता नलागेको वा पत्ता लाग्न ढिलाई भएका कयौं केसहरु छन् । किनकी हामीमध्ये अधिकांशले एन्जाइटीलाई फोकस नै गरेका हुँदैनौं ।
एन्जाइटीको पहिलो लक्षण नै खलखल पसिना आउने, कहाँ जाउँ, कसो गरौं भन्ने खालेको छटपटी हुने, रेस्टलेस हुने, अहिलेको काम अहिले नै गरेन भने आँतुरी लाग्ने, मुटु निरन्तर ढुकढुक हुने हुन्छ ।
टाउकोदेखि खुट्टासम्म देखिने लक्षणमा नशातर्फ चाहीँ टाउको भारी हुने हुन्छ । यसलाई हामी टेन्सनटाइप हेडएक पनि भन्छौं । घाँटीमा केही अड्केकोजसो हुने लक्षणपनि एन्जाइटीमा देखापर्नसक्छ । थुक निल्ने गाह्रो हुने, मुटु असहसज भएको जस्तो लाग्ने, हात खुट्टा झम्झमाउने लगायतका समस्या हुन्छ ।
त्यस्तै पेटमा एन्जाइटीको लक्षण देखापर्छ । दिसापिसाब छिटोछिटो लाग्ने, महिलाहरुको हकमा महिनावारी अनियमित हुने, हातखुट्टा गल्ने, साना सामान उठाउँदापनि हात गलेको जस्तो थकित हुने लक्षण एन्जाइटीमा देखिनसक्छ ।
के हो एन्जाइटीका कारण ?
एन्जाइटीको एउटा कारण वंशानुगत पनि हो । परिवारमा बुबा वा आमालाई एन्जाइटी भएमा सन्ततीमा पनि एन्जाइटीको समस्या हुने सम्भावना रहन्छ ।
जसरी प्रेसर र सुगर वंशानुगत हुन्छ, त्यस्तै हुनसक्छ । त्यस्तै मानिसको जीवनको कुनै अवस्थामा ठूलो तनावको अवस्था आउँदापनि एन्जाइटी हुने वा बल्झिने समस्या हुनसक्छ । कतिपयले मानसिक रुपमा सक्षम र बलियो मान्छेलाई एन्जाइटी हुँदैन भन्ने गर्छन । तर, त्यो गलत हो । यो जो कोहीलाई पनि देख्नसकिन्छ ।
एन्जाइटी वा डिप्रेसन हुनुभनेको सदैवका लागि मानसिक रुपमा कमजोर हुनु हो भन्ने किसिमबाट बुझ्नु त्रुटीपूर्ण हुन्छ । मानिसलाई वंशानुगत कारणले वा ओभरथिंकिंग गरेर र कहिलेकाहीँ तनावलाई झेल्न नसकेर एन्जाइटी हुनसक्छ ।
एन्जाइटीलाई सामान्य भाषामा भन्नुपर्दा मश्तिष्कका रसायनहरुको असन्तुलन भन्ने गरिन्छ । यसमा लक्षणहरु देखिन्छ । औषधिहरु हुने गर्छन । औषधि चलाउनुपर्ने पनि हुन्छ ।
एन्जाइटीका केही सामान्य प्रकार र यसको उपचार
यसमा सर्वप्रथम कुरा गरौं जनरलाइज्ड एन्जाइटी डिप्रेसन (जीएडी) को । यसमा चाहीँ एन्जाइटी पुरै निको हुँदैन । तर, यसलाई न्यूनिकरण र रोकथाम गर्नसकिन्छ ।
त्यस्तै ‘स्पेशिफिक फोबिया’ भन्ने अर्को समस्या हुन्छ । यसमा कसैलाई पानीसँग, कसैलाई उचाईंसँग डरलाग्ने समस्या हुन्छ । यीनीहरुको हामी साइकोथेरापीबाट उपचार गराउँछौं । परामर्श र आवश्यक्ता अनुसार औषधि पनि सञ्चालन गरिन्छ ।
यसमा चाहीँ ‘सिस्टेमिक डिसेन्सेटाइजेसन’ भन्ने परामर्श हुन्छ । यस्तोमा विस्तारै आफुलाई डर लाग्ने विषयलाई फेस गर्न सिक्ने उपचार पद्धति हुन्छ । जस्तो कसैलाई उचाईंसँग डर लाग्छ भने विस्तारै उसलाई उचाईंको अभ्याँस गराउने गरिन्छ । सुरुमा एकतलामाथि उभिन भनेर विस्तारै उचाईंमा लैजाने, पारदर्शी लिफ्टको प्रयोग गर्न लगाउने र औषधि पनि दिने गरेर यस्ता खालका फोबिया र एन्जाइटीको उपचार गरिन्छ ।
एन्जाइटीको उपचार र व्यवस्थापन सहज र सरल छ । तर, यसको सबैभन्दा ठूलो समस्या भनेको समयमा समस्याको पहिचान नहुनु हो । कतिपय मानिस सामाजिक प्रतिष्ठाको डर र अरुले थाहा पाउने डरमा उपचारसम्म नजाने गरेको पनि पाइन्छ । जुन गलत छ । विशेषज्ञ चिकित्सकमो गएपछि एन्जाइटीको सरल र सहज उपचार सम्भव हुन्छ । तर, कतिपयले डक्टर सपिंग गरेको देखिन्छ । नयाँ नयाँ डाक्टरकोमा धाउने, आजको भोलि निको हुन खोज्ने जस्तो पनि देखिन्छ । तर, त्यसरी भौतारिएर भन्दापनि मानसिक रोग विशेषज्ञलाई भेटेर कम्तिमा दुईहप्ता उपचार गर्नासाथ एन्जाइटी निको भएर सामान्य अवस्थामा फर्किन सकिन्छ ।
सुरुमा बिरामीले माथि उल्लेख गरिएकाजस्ता लक्षण भएमा मानसिक रोग विशेषज्ञलाई भेटेर एन्जाइटी जाँच गराउनु आवश्यक हुन्छ । एन्जाइटीका लागि मुटुको इसिजी आवश्यक हुन्छ । तर, अन्य विशेषज्ञ चिकित्सकले इसिजीमा देखिएको एन्जाइटीको सहि पहिचान र उपचार गर्ने कुरै भएन । यसर्थ एन्जाइटीको लक्षण पालेर नबसौं । यसले हाम्रो व्यक्तिगत र व्यवसायिक सामाजिक जीवनमा ठूलो क्षति गर्नसक्छ ।
भिडियो हेर्नुहोस् ।