काठमाडौं । स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा सुरु गरेको छ।

बोर्डले कात्तिक १७ गतेदेखि एचआईबी ई–पोर्टलमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो।
पहिलो चरणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ताको पहुँच प्रदान गरी सेवा सुरु गरिएको बोर्डले जनाएको छ।

यस प्रणालीमार्फत प्रदेश सरकार तथा स्थानीय तहले आफ्नै ड्यासबोर्डबाट नागरिक तथा लक्षित लाभग्राहीलाई स्वास्थ्य बीमामा सामूहिक रूपमा आबद्ध गराउन सक्नेछन्। स्वयं वा दर्ता सहयोगीमार्फत बीमा नवीकरण, योगदान रकम भुक्तानी तथा अभिलेख व्यवस्थापनसमेत गर्न सकिनेछ।
सेवा सञ्चालन गर्न इच्छुक प्रदेश तथा स्थानीय तहलाई बोर्डका सम्बन्धित प्रदेश र जिल्ला कार्यालयसँग समन्वय गर्न आग्रह गरिएको छ।
बोर्डका प्रवक्ता डा. पवन कुमार साहले सामूहिक आबद्धता प्रक्रियालाई सहज, व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउनुका साथै दर्तामा लाग्ने समय घटाउन सहयोग पुग्ने बताए ।







