काठमाडौं । उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सेवाभाव र सक्रियता घटेको छैन । महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा तीन दशकभन्दा लामो समय बिताएकी उनी औपचारिक सेवाबाट सेवानिवृत्त भए पनि अहिले पनि समुदायको स्वास्थ्य सुरक्षाका अभियानमा सक्रिय छिन् ।
काठमाडौं महानगरपालिका–१५, तुलसीधाराकी कार्कीले २०५५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्न थालेकी हुन् । आफ्नो क्षेत्रका कुनै पनि बालबालिका भिटामिन ‘ए’ र पोलियो खोपबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वयंसेवामा लागेको उनी बताउँछिन् ।

‘हाम्रो एरियामा भिटामिन ‘ए’ र पोलियो खुवाउँदा कोही नछुटुन् लाग्थ्यो । सेवा गर्ने भावनाले तालिम लिएर यो काममा लागेँ,’ उनले भनिन् ।
लामो समयसम्म समुदायमा स्वास्थ्य सेवा पुर्याउन योगदान गरेकी कार्कीलाई काठमाडौं महानगरपालिकाले २०८० सालमा सम्मान गरेको थियो । महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा लामो सेवा अवधि पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दा उनी ८० वर्षकी थिइन् ।

कार्की २०८० सालमै औपचारिक रूपमा सेवाबाट सेवानिवृत्त भइसकेकी छन् । तर, उमेर र अवकाशले उनको सेवाभावलाई रोक्न सकेको छैन । अहिले पनि आफूले सकुञ्जेल समुदायका लागि काम गरिरहेको उनी बताउँछिन् ।
भिटामिन ‘ए’ खुवाउने अभियानदेखि डेङ्गु रोगसम्बन्धी जनचेतना फैलाउने कार्यक्रमसम्म उनी सहभागी हुँदै आएकी छन् । बालबालिकाको स्वास्थ्य सुरक्षा र समुदायमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन उनी निरन्तर सक्रिय छिन् ।
८३ वर्षको उमेरमा पनि समुदायको स्वास्थ्यप्रति उत्तिकै चासो र जिम्मेवारीबोध राख्ने कार्कीको सक्रियता स्वयंसेवा केवल औपचारिक जिम्मेवारी नभई सेवाभाव, समर्पण र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको छ ।
औपचारिक जिम्मेवारीबाट अवकाश पाए पनि समाजप्रतिको दायित्व पूरा गर्न उमेरले छेक्दैन भन्ने प्रेरणादायी सन्देश उनको निरन्तर सक्रियताले दिएको छ ।







