काठमाडौं । मिनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा पहिलोपटक अत्याधुनिक जीवनरक्षक प्रविधि एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईक्मो) सेवा सफलतापूर्वक सञ्चालन गरिएको छ । इन्फ्लुएन्जा भाइरसको संक्रमणबाट गम्भीर अवस्थामा पुगेका ४३ वर्षीय पुरुषको ईक्मो प्रविधिबाट उपचार गरी स्वास्थ्यलाभ भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
तीव्र श्वासप्रश्वास समस्या (एआरडीएस) बाट पीडित ती बिरामीलाई ईक्मो र भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालको सघन उपचार सेवा विभागका प्रमुख डा. प्रदीप तिवारीका अनुसार ईक्मो मुटु र फोक्सोले सामान्य रूपमा काम गर्न नसक्ने अवस्थामा ती अंगको काम अस्थायी रूपमा गर्ने जीवनरक्षक प्रणाली हो । यस प्रविधिमा शरीरबाट बाहिर निकालिएको रगतमा अक्सिजन थप्नुका साथै कार्बन डाइअक्साइड हटाएर पुनः शरीरमा पठाइन्छ ।
भाइरल संक्रमणपछि बिरामीको फोक्सोमा गम्भीर समस्या देखिएपछि फोक्सोलाई आराम दिन विशेष प्रकारको ईक्मो मेसिन प्रयोग गर्नुपरेको डा. तिवारीले बताए । ईक्मोमा जोडेपछि मेसिनले फोक्सोको काममा सहयोग गरेको उनको भनाइ छ ।

ती बिरामीलाई ११ दिनसम्म ईक्मो र १४ दिनसम्म भेन्टिलेटरको सहायतामा राखेर उपचार गरिएको थियो । उपचारपछि असोज १७ गते सघन उपचार कक्ष (आईसीयू) बाट डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जनाएको छ ।
उपचारमा संलग्न क्रिटिकल केयर विशेषज्ञ डा. आनन्द ठाकुरका अनुसार एआरडीएस, पल्मोनरी इम्बोलिजम, गम्भीर हृदयाघात तथा मुटु र फोक्सो प्रत्यारोपणका क्रममा ईक्मो प्रविधि प्रयोग गरिन्छ ।
बिरामीको उपचारमा डा. प्रदीप तिवारी, डा. आनन्द ठाकुर, डा. सन्तोष आचार्य, डा. वीरेन्द्र राउत, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन डा. सम्पूर्ण तुलाधर, पर्फ्युजनिस्ट इशान जोशी र एनेस्थेसियोलोजिस्ट डा. दीपक भण्डारीसहित चिकित्सक तथा नर्सिङ टोली संलग्न थियो ।
सिभिल अस्पतालमा ईक्मो सेवा सुरु भएसँगै जटिल अवस्थाका मुटु तथा फोक्सोका बिरामीको उपचारमा थप अत्याधुनिक सुविधा उपलब्ध भएको छ । यसले गम्भीर बिरामीको उपचारका लागि अस्पतालको क्षमता विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







