काठमाडौँ । देशमा रगतको अभाव बढ्दै गएको गुनासो भइरहेका बेला सरकारी रक्त सूचना पोर्टलमा भने पर्याप्त मात्रामा रगत मौज्दात रहेको तथ्याङ्क देखिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको रक्त सूचना पोर्टलमा देशभर ९ हजार २६५ पिन्ट रगत उपलब्ध रहेको विवरण छ । तर, पोर्टलमा देखिएको तथ्याङ्क र अस्पताल तथा रक्तसञ्चार केन्द्रको वास्तविक अवस्था भने मेल खान सकेको छैन ।
पोर्टलमा विभिन्न रक्त समूहका रगत पर्याप्त मात्रामा उपलब्ध रहेको देखिए पनि बिरामी र आफन्तले अस्पताल तथा रक्तसञ्चार केन्द्र पुग्दा आवश्यक रगत सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन् ।
पोर्टलमा उपलब्ध विवरणअनुसार ‘ए’ पोजेटिभ समूहका २ हजार ६३४, ‘बी’ पोजेटिभका २ हजार ३७९, ‘ओ’ पोजेटिभका २ हजार ९९८ र ‘एबी’ पोजेटिभका ८४५ पिन्ट रगत मौज्दात रहेको उल्लेख छ ।

त्यसैगरी ‘ए’ नेगेटिभ समूहका १२२, ‘बी’ नेगेटिभका ९६, ‘ओ’ नेगेटिभका १२९ र ‘एबी’ नेगेटिभका ४० पिन्ट रगत उपलब्ध रहेको पोर्टलमा देखाइएको छ ।
डिजिटल प्रणालीमा हजारौँ पिन्ट रगत उपलब्ध रहेको विवरण देखिए पनि व्यवहारमा बिरामीले आवश्यक समूहको रगत पाउन नसकिरहेको अवस्था छ । विशेषगरी रगतको खोजीमा अस्पताल र रक्तसञ्चार केन्द्र धाउनुपर्ने बाध्यताले बिरामीका आफन्त थप समस्यामा पर्ने गरेका छन् ।
अनलाइन पोर्टलमा देखिने तथ्याङ्क र वास्तविक मौज्दातबीच तालमेल नहुँदा रक्त सूचना प्रणालीको विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ । पोर्टलमा उल्लेख भएको रगत कहाँ उपलब्ध छ र बिरामीले किन सहज रूपमा प्राप्त गर्न सकिरहेका छैनन् भन्ने विषयमा सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ ।








