

काठमाडौँ – हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण ‘हिमभास–२०२७’ आगामी चैत ३ देखि ७ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ। आयोजकका अनुसार सम्मेलन १७ देखि २१ मार्च २०२७ सम्म सञ्चालन हुनेछ।
हिमभास–२०२७ मा विश्वका विभिन्न देशका भास्कुलर विशेषज्ञ चिकित्सक तथा वैज्ञानिकहरूको सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनका लागि १०० भन्दा बढी देशका विशेषज्ञलाई निमन्त्रणा गरिएको र हालसम्म ६० भन्दा बढी देशबाट सहभागीको रजिस्ट्रेसन भइसकेको आयोजकको भनाइ छ।
हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेका अनुसार यसपटकको सम्मेलन पहिलो संस्करणभन्दा ठूलो आकारमा आयोजना गर्ने तयारी गरिएको छ। पहिलो संस्करणको तुलनामा कम्तीमा दोब्बर विदेशी विज्ञको सहभागिता हुने अपेक्षा गरिएको उनले बताए।
सन् २०२४ मा आयोजना भएको हिमभासको पहिलो संस्करण नेपालमै पहिलो बृहत् अन्तर्राष्ट्रिय भास्कुलर समिटका रूपमा आयोजना गरिएको आयोजकको दाबी छ। उक्त सम्मेलनमा ४२ देशका विज्ञ चिकित्सक तथा वैज्ञानिक सहभागी भएका थिए भने स्वदेशी तथा विदेशी गरी ३५० भन्दा बढीको सहभागिता रहेको थियो।
के हो हिमभास ?
हिमालयन रेन्जमा रहेका देशहरूलाई समेटेर भास्कुलर विषयमा अध्ययन, अनुसन्धान तथा उपचार अनुभव आदानप्रदान गर्ने उद्देश्यले हिमभासको अवधारणा अघि बढाइएको आयोजकले जनाएको छ।
सम्मेलनमा भास्कुलर रोगसम्बन्धी विभिन्न अनुसन्धानका प्रतिवेदन प्रस्तुत गर्नुका साथै उपचारका नयाँ प्रविधि, अनुभव तथा सिकाइबारे छलफल गरिनेछ। अमेरिका, बेलायत, अष्ट्रेलिया, इटाली, फ्रान्स, उरुग्वे, जापान, चीन, भारत र संयुक्त अरब इमिरेट्सलगायत देशका विशेषज्ञको सहभागिता रहने आयोजकले जनाएको छ।
त्यस्तै, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, सिंगापुर, टर्की, अस्ट्रिया, कोलम्बिया, इजिप्ट, हङकङ, स्वीडेन र ओमानलगायत देशका विज्ञ चिकित्सकले पनि सहभागिता सुनिश्चित गरेको आयोजकको भनाइ छ।
यसपटकको पाँचदिने सम्मेलनमा ३०० भन्दा बढी अनुसन्धानपत्र तथा पोस्टर प्रस्तुत गरिने तयारी छ।
भास्कुलर चिकित्सा मानव शरीरमा शिरदेखि पाउसम्म रहेका विभिन्न रक्तनली तथा त्यससँग सम्बन्धित रोगको अध्ययन, अनुसन्धान र उपचारसँग सम्बन्धित चिकित्सा विधा हो। चिकित्सा विज्ञानमा यसको महत्व बढ्दै गएको आयोजकले जनाएको छ।
मेडिकल टुरिजम प्रवर्द्धनमा जोड
हिमभास–२०२७ को अर्को उद्देश्य नेपालमा मेडिकल टुरिजमलाई प्रवर्द्धन गर्नु रहेको डा. पाण्डेले बताए। उनका अनुसार पहिलो संस्करणमा सहभागी भएका ४० भन्दा बढी विदेशी विज्ञ सम्मेलनपछि माउन्टेन फ्लाइट तथा अन्नपूर्ण आधार शिविर (एबीसी) ट्रेकलगायत क्षेत्रमा पुगेका थिए।
यसपटक सहभागी हुने कतिपय विदेशी चिकित्सकले सम्मेलनपछि नेपालमा थप केही दिन बसेर विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने इच्छा व्यक्त गरेको आयोजकले जनाएको छ। यसबाट नेपालको पर्यटन क्षेत्रलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार पहिलो संस्करणपछि नेपालमा उपचारका लागि आउने विदेशी बिरामीको संख्या बढेको अनुभव गरिएको छ। भारत, भुटान र बंगलादेशसँगै मध्यपूर्व, मलेसिया, इन्डोनेसिया, टर्कीलगायत केही युरोपेली मुलुकबाट समेत उपचारका लागि बिरामी नेपाल आउन थालेको डा. पाण्डेको भनाइ छ।
उनले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले चिकित्सक तथा स्वास्थ्य क्षेत्रका विज्ञबीच ज्ञान, अनुसन्धान र उपचार अनुभव आदानप्रदान गर्न सहयोग पुग्नुका साथै नेपालमा गुणस्तरीय स्वास्थ्य उपचारको सम्भावना र पहुँचबारे अन्तर्राष्ट्रिय स्तरमा जानकारी विस्तार गर्न मद्दत पुग्ने बताए।
आयोजकले हिमभास–२०२७ का बारेमा आगामी दिनमा चरणबद्ध रूपमा थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।



