

काठमाडौँ – नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै नुवाकोटको विदुरमा अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। भोटेकोशी र त्रिशूली नदी आसपासका बाढी प्रभावितलाई लक्षित गरी नेपाल प्रहरी अस्पताल महाराजगञ्जले भदौ १४ गतेदेखि पाँच शैयाको लेभल–१ अस्पताल सञ्चालन गरिरहेको हो।
नेपाल प्रहरी अस्पतालबाट प्रहरी नायब उपरीक्षकसहितको विशेषज्ञ चिकित्सक टोली आवश्यक उपकरणसहित फिल्ड अस्पतालमा खटिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीपछि विभिन्न रोगको संक्रमण फैलिन सक्ने र सामान्य स्वास्थ्य सेवा लिनसमेत कठिनाइ हुने अवस्थालाई ध्यानमा राखेर अस्थायी अस्पताल सञ्चालन गरिएको हो।
फिल्ड अस्पतालबाट विशेषज्ञ चिकित्सकसहित २४ घण्टा आकस्मिक सेवा, ओपीडी तथा औषधि सेवा निःशुल्क उपलब्ध गराइँदै आएको छ। हालसम्म उक्त अस्पतालबाट २३६ जना बाढी प्रभावितले स्वास्थ्य सेवा लिइसकेका छन्।
बाढीबाट प्रभावित व्यक्तिमा देखिन सक्ने मानसिक तनावलाई सम्बोधन गर्न मनोचिकित्सा सेवासमेत सञ्चालन गरिएको छ। नेपाल प्रहरी अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्त नेतृत्वको टोलीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा उद्धारमा खटिएका प्रहरी कर्मचारीलाई मानसिक स्वास्थ्य परामर्श प्रदान गरेको छ।
बाढी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रहरीको चिकित्सक टोलीले स्वास्थ्य सचेतना कार्यक्रमसँगै निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिरहेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका हालसम्म ८४९ जनाले स्वास्थ्य परामर्श तथा सेवा प्राप्त गरेका छन्।
यसैगरी बाढीमा बेपत्ता भएका तथा बेवारिसे अवस्थामा फेला परेका शवको पहिचान सहज बनाउन फिल्ड अस्पतालबाट डीएनए नमुना संकलनको कामसमेत भइरहेको छ।
नेपाल प्रहरी अस्पतालका प्रहरी नायव उपरीक्षक डा. नारायणप्रसाद अधिकारीका अनुसार बाढीपछि नुवाकोटमा हैजाको जोखिमलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनका कन्ट्री हेडसँगको समन्वयमा उद्धार तथा राहत कार्यमा खटिएका प्रहरी कर्मचारीलाई हैजा महामारीसम्बन्धी सचेतना र खोप कार्यक्रमसमेत सञ्चालन गरिएको छ।



