

काठमाडौं – लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस (जेइ) संक्रमण बढ्दै जाँदा यसबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। हालसम्म देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जनामा जेइ संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले आइतबार विज्ञप्ति जारी गर्दै संक्रमणको जोखिम बढिरहेकाले सबैलाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार पुष्टि भएका संक्रमितमध्ये ८६ प्रतिशतले जेइविरुद्धको खोप नलगाएको पाइएको छ। मृत्यु भएका सबै २१ जनाले पनि जेइ खोप नलगाएको महाशाखाले जनाएको छ।
हालसम्म झापामा सबैभन्दा धेरै १० जनामा संक्रमण पुष्टि भएको छ। कैलाली र मोरङमा सात/सात, सप्तरी र कञ्चनपुरमा छ/छ तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा पाँच/पाँच जनामा संक्रमण देखिएको छ।
जेइ संक्रमण मुख्यतः तराई र भित्री मधेसका जिल्लामा बढी देखिए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुलीलगायत पहाडी जिल्लामा समेत संक्रमित भेटिएका छन्।
जापनिज इन्सेफलाइटिस संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। विशेषगरी धानखेत र सुँगुरपालन हुने क्षेत्र आसपास बसोबास गर्ने मानिसमा संक्रमणको जोखिम बढी हुने गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ। संक्रमित सुँगुर, बंगुर वा हाँसलगायत जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि भाइरस सर्न सक्छ।
जेइलाई गम्भीर रोगका रूपमा लिइन्छ। संक्रमितमध्ये केहीको मृत्यु हुने तथा बाँचेकामध्ये पनि स्नायुसम्बन्धी दीर्घकालीन समस्या वा अपांगता देखिन सक्ने जोखिम रहेको छ।
पछिल्लो तथ्यांकअनुसार ८० संक्रमितमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेइका कारण मृत्यु भएकामध्ये ८१ प्रतिशत ५० वर्षभन्दा माथिका व्यक्ति रहेका छन्। संक्रमितमध्ये ४३ जना पुरुष र ३७ जना महिला छन्।
उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनाको अवस्थामा परिवर्तन हुनेजस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न परिवार कल्याण महाशाखाले आग्रह गरेको छ।
सरकारले नियमित खोप कार्यक्रमअन्तर्गत १२ महिनाको उमेरमा बालबालिकालाई जेइ खोप लगाउने व्यवस्था गरेको छ। उक्त उमेरमा खोप छुटेका बालबालिकालाई पाँच वर्षको उमेरसम्म खोप लगाउन सकिने जनाइएको छ।
परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जेइबाट बच्न खोप प्रभावकारी माध्यम भएको बताउँदै खोप छुटेका बालबालिकालाई यथाशीघ्र खोप लगाउन आग्रह गरेका छन्। महाशाखाले खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउन पनि सबैलाई अनुरोध गरेको छ।



