
कञ्चनपुर – नेपाल मेडिकल काउन्सिलको विशेष टोलीले कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका डेन्टल क्लिनिकहरूको आकस्मिक अनुगमन गर्दा अधिकांश क्लिनिक मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ। चिकित्सकबिनै उपचार गर्ने, स्वास्थ्य कार्यालयमा दर्ता नगरी सेवा सञ्चालन गर्ने तथा न्यूनतम स्वास्थ्य मापदण्ड समेत पालना नगरेको तथ्य अनुगमनका क्रममा खुलेको हो।
काउन्सिल सदस्य डा. अजय कुमार शाहको नेतृत्वमा विज्ञहरू डा. विकास खड्का र डा. अमृतराज जैशी सम्मिलित टोलीले मंगलबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म गुलरिया, झलारी र महेन्द्रनगर क्षेत्रका विभिन्न डेन्टल क्लिनिकहरूको स्थलगत निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा गुलरियास्थित स्टार डेन्टल क्लिनिकमा गम्भीर लापरबाही फेला परेको टोलीले जनाएको छ। उक्त क्लिनिक स्वास्थ्य कार्यालयमा दर्ता नभएको र कुनै शैक्षिक योग्यता नभएका व्यक्तिले बिरामीको उपचार गरिरहेको पाइएको हो। चिकित्सक नराखी सञ्चालक आफैँले उपचार गर्दै आएको पुष्टि भएपछि प्रहरीको रोहबरमा क्लिनिक बन्द गराइएको जनाइएको छ।
त्यसैगरी, झलारीस्थित यूएस डेन्टल क्लिनिक, न्यु शाही पञ्चकोशी डेन्टल क्लिनिक तथा महेन्द्रनगरको शाही पञ्चकोशी डेन्टल क्लिनिकमा पनि चिकित्सकको अनुपस्थितिमा गैरकानुनी रूपमा बिरामीको उपचार भइरहेको र ती क्लिनिकहरू जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
महेन्द्रनगरस्थित यूएन डेन्टल क्लिनिकमा कागजातमा चिकित्सकको नाम राखिएको भए पनि विगत दुई वर्षदेखि कुनै चिकित्सक कार्यरत नरहेको र सञ्चालक आफैँले उपचार गर्दै आएको पाइएको टोलीले जनाएको छ।
त्यस्तै, न्यु विष्ट डेन्टल क्लिनिकमा चिकित्सक बिदामा रहेको जानकारी दिइए पनि क्लिनिकको सरसफाइ र उपकरण निर्मलीकरणको अवस्था अत्यन्त कमजोर रहेको पाइएको छ। टोलीले चिकित्सकको उपस्थिति बिना कुनै पनि उपचार नगर्न कडा निर्देशन दिएको छ।
अनुगमन टोली आउने सूचना बाहिरिएपछि केही क्लिनिक सञ्चालकहरूले क्लिनिक नै बन्द गरेर सम्पर्कविहीन भएको पनि जनाइएको छ। महाकाली डेन्टल हस्पिटल बिहानैदेखि बन्द गरिएको थियो भने सञ्चालकलाई सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेको टोलीले जनाएको छ। साथै, गुलरियाको शाही डेन्टल क्लिनिक र झलारीको राजदेवी डेन्टल क्लिनिक पनि बन्द अवस्थामा भेटिएका थिए।
यद्यपि, केही क्लिनिकहरूले भने कानुनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पालना गरेको पाइएको छ। महेन्द्रनगरस्थित हिमाल डेन्टल क्लिनिक, बिमल डेन्टल क्लिनिक र हुनैनाथ डेन्टल क्लिनिकमा चिकित्सकहरूले नै उपचार गरिरहेको तथा आवश्यक दर्ता प्रक्रिया पूरा गरिएको टोलीले जनाएको छ।
महेन्द्रनगरकै राजदेवी डेन्टल क्लिनिकलाई भने सरसफाइ र सामग्री व्यवस्थापनमा सुधार गर्न निर्देशन दिइएको छ।
जनस्वास्थ्यसँग गम्भीर खेलबाड गर्ने यस्ता अवैध क्लिनिकहरूलाई कानुनी दायरामा ल्याई आवश्यक प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न मेडिकल काउन्सिलको टोलीले निर्देशन दिएको छ।


