
ललितपुर- बीएन्डबी अस्पताल परिसरमा ‘एकेबी कृत्रिम अंग जडान केन्द्र’ को औपचारिक उद्घाटन गरिएको छ। अस्पतालका संस्थापक सम्माननीय प्रा. डा. जगदीशलाल वैद्य र प्रा. डा. अशोक कुमार बाँस्कोटाको प्रमुख आतिथ्यतामा केन्द्रको उद्घाटन सम्पन्न भएको हो।
उद्घाटन समारोहमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनहरू, अस्पतालका विभिन्न विभागका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अर्थोपेडिक सर्जन डा. बिबेक बाँस्कोटाले ‘एकेबी कृत्रिम अंग जडान केन्द्र’ कृत्रिम अंग जडान गर्ने केन्द्र मात्र नभई अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान, गतिशीलता र जीवनप्रति आशा पुनःस्थापना गर्ने उद्देश्यले स्थापना गरिएको बताए।

उहाँले उपचारलाई शल्यक्रियामा मात्र सीमित नराखी पुनर्स्थापना सेवासँग जोड्दै बिरामीलाई आत्मविश्वासका साथ पुनः जीवनमा अघि बढ्न सक्षम बनाउने केन्द्रको लक्ष्य स्पष्ट पार्नुभयो। सो अवसरमा डा. बाँस्कोटाले केन्द्रको दृष्टिकोण, सेवा क्षेत्र तथा भावी योजनाबारे पावरपोइन्ट प्रस्तुतिकरणसमेत गरेका थिए।
आयोजकका अनुसार संस्थापक प्रा. डा. जगदीशलाल वैद्य र प्रा. डा. अशोक कुमार बाँस्कोटाको दूरदृष्टि, करुणा र आजीवन सेवाभावकै कारण यस्तो केन्द्र स्थापना सम्भव भएको हो। कार्यक्रममा उहाँहरूप्रति गहिरो कृतज्ञता व्यक्त गरिएको थियो।
उद्घाटन समारोहमा संस्थापकद्वयले शुभकामना मन्तव्य राख्दै केन्द्रको सफलताको कामना गर्नुभयो। सो अवसरमा केही लाभग्राहीहरूलाई कृत्रिम अंग हस्तान्तरण पनि गरिएको थियो।
‘एकेबी लिम्ब फिटिङ सेन्टर’ अर्थोपेडिक उत्कृष्टता र पुनर्स्थापना सेवाबीचको सहकार्यको उदाहरणका रूपमा स्थापित हुने आयोजकको विश्वास छ। विज्ञान र मानवतालाई एकसाथ अघि बढाउने अवधारणासहित केन्द्रले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



