
काठमाडौँ- पेट तथा आन्द्रामा देखिने सुरुवाती अवस्थाका ट्युमर र क्यान्सरको उपचारमा अब ठूलो शल्यक्रिया अनिवार्य नहुने भएको छ । इन्डोस्कोपिक सबम्यूकोसल डिसेक्सन(इएसडी) नामक अत्याधुनिक प्रविधिबाट शल्यक्रिया नगरी नै आन्द्रा तथा पेटको भित्री तहमा रहेको ट्युमर निकाल्न सकिने भएको हो ।
ह्याम्स अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोलोजिस्ट तथा इन्टरभेन्सनल इन्डोस्कोपिस्ट डा. विवेककुमार पूर्वेका अनुसार इएसडी प्रविधि विशेषगरी पेट र आन्द्राको सुरुवाती चरणको क्यान्सर तथा ट्युमरका लागि अत्यन्त प्रभावकारी उपचार विधि हो ।
“इएसडी भनेको इन्डोस्कोपमार्फत आन्द्राको भित्री तहमा रहेको ट्युमरलाई सावधानीपूर्वक काटेर निकाल्ने प्रक्रिया हो । यसमा पेट चिरेर शल्यक्रिया गर्नुपर्दैन,” डा. पूर्वे भन्छन्, “यसले बिरामीलाई कम पीडा, कम जोखिम र छिटो निको हुने अवसर दिन्छ ।”
किन गरिन्छ इएसडी ?
इएसडी प्रविधिको मुख्य उद्देश्य सुरुवाती क्यान्सरलाई शरीरमा ठूलो असर नपारी हटाउनु हो । परम्परागत शल्यक्रियामा पेट वा आन्द्रा चिरेर ट्युमर निकाल्नुपर्ने हुँदा रगत धेरै बग्ने, लामो समय अस्पताल बस्नुपर्ने र संक्रमणको जोखिम रहने गर्छ । तर इएसडीमा यस्ता जटिलता निकै कम हुने चिकित्सकहरू बताउँछन् ।
डा. पूर्वेका अनुसार इएसडीका प्रमुख फाइदाहरू यस्ता छन्
-बाहिरी घाउ नबनाई उपचार
-रगत कम बग्ने
-अस्पतालमा लामो समय बस्न नपर्ने
-उपचार खर्च तुलनात्मक रूपमा कम
-उपचारपछि २४ घण्टामै खाना खान सकिने र डिस्चार्ज हुने
-सुरुवाती क्यान्सरमा अत्यन्त प्रभावकारी
सम्भावित जोखिम पनि
यद्यपि इएसडी पूर्ण रूपमा जोखिमरहित भने छैन । डा. पूर्वे भन्छन्, “कहिलेकाहीँ उपचारका क्रममा रगत बग्न सक्छ । अत्यन्त दुर्लभ अवस्थामा आन्द्रामा प्वाल परेर हावा निस्कने (पर्फोरेसन) समस्या देखिन सक्छ । तर अनुभवी चिकित्सक र आधुनिक उपकरण प्रयोग गर्दा यी जोखिम न्यून हुन्छन् ।”
नेपालमै सुरुवात
नेपालमा यसअघि इएसडी प्रविधि उपलब्ध थिएन । हाल ह्याम्स अस्पतालमा पहिलो पटक इएसडी सेवा सुरु गरिएको हो । डा. पूर्वेले चीनमा विशेष तालिम लिएर हालसम्म दुई जना बिरामीमा सफलतापूर्वक इएसडी प्रक्रिया गरिसकेको जानकारी दिए ।
“यो मेजर शल्यक्रिया नभएकाले भविष्यमा यसको प्रयोग अझै बढ्नेछ । नेपालमै यति उन्नत उपचार सम्भव हुनु ठूलो उपलब्धि हो,” डा. पूर्वेले भने ।
भविष्यमा ठूलो सम्भावना
स्वास्थ्य विशेषज्ञहरूका अनुसार जीवनशैलीमा आएको परिवर्तनका कारण पेट तथा आन्द्रासम्बन्धी क्यान्सरको जोखिम बढ्दो छ । यस्ता अवस्थामा इएसडीजस्ता न्यून आक्रामक उपचार विधिले बिरामीको जीवनस्तर सुधार्नुका साथै क्यान्सर उपचारलाई सरल र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।


