काठमाडौँ- आज नेपालसहित विश्वभर विश्व पक्षाघात (स्ट्रोक) दिवस मनाइँदैछ। हरेक वर्ष अक्टोबर २९ मा विश्व स्वास्थ्य सङ्गठनतथा विभिन्न स्वास्थ्य संस्थाहरूको सहकार्यमा यो दिवस मनाइने गरिन्छ।
मस्तिष्कको कुनै भागमा रक्तसञ्चार अवरुद्ध भई अक्सिजन तथा आवश्यक पोषकतत्व पुग्न नसक्दा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउने अवस्थालाई पक्षाघात भनिन्छ। यो एक जटिल र घातक शारीरिक समस्या मानिन्छ।

‘सक्रिय जीवनशैली अपनाऔँ’ भन्ने मूल नारासहित आज नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। तथ्यांकअनुसार विश्वमा हरेक चार जनामध्ये एकलाई पक्षाघात हुने सम्भावना रहेको छ भने प्रत्येक ६ सेकेन्डमा एक जनाले यसका कारण जीवन गुमाइरहेको जनाइएको छ।
नेपाल पक्षाघात सङ्घका अध्यक्ष डा. राजु पौडेलका अनुसार अल्पविकसित तथा विकासोन्मुख देशमा पक्षाघातको जोखिम अझ बढ्दो छ । नेपालमा समेत पक्षाघात भएका मध्ये १० प्रतिशतको ज्यान जाने गरेको उनी बताउँछन्।

पक्षाघातका प्रमुख लक्षणमा
- सन्तुलन गुम्नु
- अनुहार बाङ्गिनु
- आँखाको ज्योति अचानक गुम्नु
- बोली स्पष्ट नबोलिनु
- हातखुट्टा अचानक लुलो हुनु
जस्ता अवस्थाहरू पर्ने बताइन्छ।
यस्ता लक्षण देखा परेमा साढे ४ घण्टाभित्र अस्पताल पुग्न सके उपचार सम्भव हुने डा. पौडेलले जानकारी दिए।
उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, निष्क्रिय जीवनशैली, असन्तुलित आहार तथा मुटुको चाल गडबडीजस्ता कारणहरूले पक्षाघातको जोखिम बढाउने भएकाले समयमै सतर्क रहन स्वास्थ्य विशेषज्ञहरूले आग्रह गरेका छन्।







