काठमाडौं – ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सुत्केरी हुन भर्ना भएकी बिरामीको मृत्यु पश्चात् अस्पतालमा भएको सांघातिक आक्रमणप्रति एशोसियसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज नेपालले गम्भीर आपत्ति जनाएको छ।
घटनाको विषयमा विज्ञप्ति जारी गर्दै एशोसियसनले उपचारसम्बन्धी कुनै पनि विमति विधिसम्मत तथा कानुनी प्रक्रियाबाट समाधान गर्नु पर्ने अधिकार हुँदाहुँदै अस्पतालजस्तो संवेदनशील स्थानमा प्रवेश गरी स्वास्थ्यकर्मीको ज्यानै लिने मनसायका साथ गरिएको आक्रमणले त्रास र आतंक सिर्जना भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “यस्तो प्रकारको आक्रमण कुनै स्वभाविक असन्तुष्टि नभई पेशेवर गुण्डा परिचालन गरेर अस्पताल र स्वास्थ्यकर्मीमाथि क्षति पुर्याउने नियोजित तथा प्रायोजित हमला हो भन्ने हाम्रो बुझाइ छ।” एशोसियसनका अनुसार बिरामीको आफन्तका नाममा कुत्सित षड्यन्त्र रचेर निजी संस्थालाई लक्षित गरिएको स्पष्ट देखिन्छ।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीले उच्चतम पेशागत दक्षता प्रयोग गरी बिरामीको उपचार गर्ने भए पनि चिकित्सक वा अस्पताल भगवान् नभएको स्पष्ट पारेको छ। “उपचारका क्रममा त्रुटि नै देखिए पनि त्यसको छानबिन गर्ने मेडिकल काउन्सिल तथा कानुनी निकायहरू विद्यमान छन्,” विज्ञप्तिमा उल्लेख छ।

प्राइभेट शिक्षण अस्पतालहरूलाई निरुत्साहित गर्न निरन्तर चलिरहेका गतिविधिको पछिल्लो प्रकटिकरणका रूपमा किष्टमा आक्रमण गराइएको एशोसियसनको आरोप छ। यसरी निरन्तर आतंक मच्चाइएका परिस्थितिमा स्वास्थ्य सेवा सञ्चालन नै जोखिमपूर्ण हुने बताइएको छ।
एशोसियसनले तत्काल छानबिन गरी दोषीहरूलाई पक्राउ गरी कडा कारबाही गर्न तथा शान्ति–सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष जोडदार माग राखेको छ।
“आपराधिक आक्रमण दोहोरिन नदिन आवश्यक कारबाही हुन नसके संघले सबै सरोकारवालासँग छलफल गरी कडा संघर्षका कार्यक्रम थालनी गर्न बाध्य हुनेछ,” विज्ञप्तिमा चेतावनी दिइएको छ।










