काठमाडौँ- नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा उनलाई शपथ गराएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएकी डा. गौतमसँगै बब्लु गुप्ताले पनि युवा तथा खेलकुद मन्त्रीका रूपमा शपथ लिएका छन्।
यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने गरी नाम सिफारिस भए पनि दुवैको शपथ रोकिएको छ। सुनारका पुराना काण्ड–विवाद सार्वजनिक भएपछि उनको शपथ स्थगित गरिएको र श्रेष्ठको शपथ रोकिएको कारण भने खुलाइएको छैन।

अनुभवी स्वास्थ्य प्रशासक, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञका रूपमा परिचित डा. गौतम नेपाल चिकित्सक सङ्घको पहिलो महिला अध्यक्षसमेत रहिन्। उनी पूर्व स्वास्थ्य सचिव पनि हुन्। सरकारले सन् २०३९ सालमा जिल्ला अस्पतालमार्फत सरकारी सेवामा प्रवेश गरेकी उनी लामो सेवाजिवनपछि सचिवसम्म पुगेकी थिइन्।
२०६२/६३ को जनआन्दोलनका क्रममा स्वास्थ्यकर्मीहरूको अग्रपंक्तिमा रहेर घाइतेको उपचारमा महत्वपूर्ण भूमिका खेल्ने डा. गौतमको नेतृत्वमा सेफ मदरहुड, नवजात स्वास्थ्य, राष्ट्रिय पोषण रणनीति, हेल्थ सेक्टर स्ट्राटेजिक प्लानलगायतका नीतिमा दीर्घकालीन सुधार भएको मानिन्छ।
अन्तर्राष्ट्रिय स्तरमा पनि उनी स्थापित छिन्। युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेकी उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट पुरस्कृत भइसकेकी छिन्।








