काठमाडौ- स्वास्थ्य मन्त्रालयको आयोजना गरेको नर्सहरूको तलब स्केल सम्बन्धी कार्यदल बैठकमा आन्दोलनरत पक्षबाट देखिएको अपमानजनक व्यवहारप्रति निजी अस्पताल र मेडिकल कलेज प्रतिनिधिहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज नेपाल र एसोसिएसन अफ प्राइभेट हस्पिटल नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा प्रयोग भएका अपमानजनक शब्द, अनुचित व्यवहार र ‘माफिया’ लेखिएका प्लेकार्ड प्रदर्शनप्रति आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सधैं संवाद, सहकार्य र सम्मानको आधारमा समस्या समाधान गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै, आन्दोलनरत नर्सहरूको मागप्रति सकारात्मक रहेको जानकारी गराइएको छ। तर, बैठकको वातावरण बिगारेको र आपसी विश्वासमा चोट पुर्याएको कारण स्वास्थ्य संस्थाका प्रतिनिधिहरू बार्ताको कक्षबाट निस्किन बाध्य भएकाे जनाइएकाे छ।

प्रेस विज्ञप्तिमा राज्य पक्षको कमजोरी र असन्तुलित व्यवस्थापनले यस्तो अप्रिय परिस्थिति सिर्जना भएको दाबी गरिएको छ। सरकारी नीति र स्पष्ट कार्यविधि नहुँदा यो अवस्था उत्पन्न भएको भन्दै सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने जनाइएको छ।
निजी अस्पतालहरूले आगामी दिनमा पनि स्वास्थ्यकर्मी र सरकारसँग सहकार्य गरी न्यायोचित समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर, भविष्यमा यस्ता अपमानजनक व्यवहार दोहोरिएमा सदस्य संस्थाहरूको प्रतिष्ठा र स्वाभिमान रक्षा गर्न आवश्यक कदम चाल्न बाध्य हुने चेतावनी समेत जारी गरिएको छ।








