काठमाडौं- नेपाल फार्मेसी संघले हाल नर्सिङ पेशाकर्मीहरूले पारिश्रमिक, सेवा सुविधा र व्यावसायिक सम्मानका मागसहित सुरु गरेको आन्दोलनलाई पूर्ण समर्थन जनाएको छ। संघले स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंग रहेका फार्मेसी पेशाकर्मीहरू पनि अत्यन्त न्यून पारिश्रमिक र असमान परिस्थितिमा काम गर्न बाध्य रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आग्रह गरेको छ।
नेपाल फार्मेसी संघले आफ्नो प्रेस विज्ञप्तिमार्फत सरकारसँग तत्कालै तहगत संरचना, शैक्षिक योग्यता र अनुभवअनुसार न्यूनतम पारिश्रमिक, भत्ता र सेवा सुविधा लागू गर्न माग गरेको छ। संघले औषधि परामर्श, औषधि व्यवस्थापन र प्रयोगसम्बन्धी सल्लाहका लागि कानूनी मान्यता र उचित सेवा शुल्क निर्धारण गर्नुपर्ने पनि जोड दिएको छ।
त्यसैगरी, संघले फार्मासिस्ट र फार्मेसी सहायकहरूलाई स्वास्थ्य सेवा प्रदायकका रूपमा औपचारिक मान्यता दिन, निरन्तर व्यावसायिक विकास कार्यक्रममार्फत क्षमता अभिवृद्धि गर्न र गुणस्तरीय औषधि सेवा प्रणाली लागू गरी फार्मेसी मूल्यांकन र अनुगमन सुदृढ गर्नुपर्ने माग पनि राखेको छ।

नेपाल फार्मेसी संघका अध्यक्ष युवराज भुसाल र महासचिव सुवर्णराज पन्तले औषधि ऐन, २०३५, अस्पताल फार्मेसी सेवा संचालन निर्देशिका २०७२ र सर्वोच्च अदालतका आदेशहरूको पूर्ण कार्यान्वयन गरी औषधि क्षेत्रमा रहेका विकृति र विसङ्गतिहरूको अन्त्य गर्नुपर्ने पनि बताएको छ।
संघले चेतावनी दिएको छ कि यदि यी मागहरू समयमै सम्बोधन भएनन् भने चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम अघि बढाइनेछ।









