काठमाडाैं- वीरगञ्ज महानगरपालिकामा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप अभियानमा गम्भीर लापरबाही देखिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले खोप कार्यक्रम सञ्चालनका क्रममा देखिएका कमजोरी सच्याउन निर्देशन दिएको छ ।
प्रशासनको अनुगमनका क्रममा वीरगञ्जको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवामा सञ्चालित खोप केन्द्रमा सरसफाइ, सुरक्षा र स्वास्थ्य मापदण्ड उल्लंघन गरिएको पाइएको हो । खोपस्थलमा न्यूनतम स्वच्छता कायम नगरिएको, फोहोर व्यवस्थापन उचित नभएको तथा सिरिन्ज तथा अन्य स्वास्थ्य सामग्री अनियन्त्रित रूपमा छाडिएको प्रशासनको प्रतिवेदनमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा गरिएको अनुगमनपछि महानगरपालिकालाई नौ बुँदे निर्देशन दिँदै कमजोरी सुधार नगरेसम्म खोप अभियान रोक्न पत्राचार गरिएको छ । ‘खोपस्थलको स्वच्छता, सुरक्षा तथा व्यवस्थापनमा गम्भीर लापरबाही देखिएको हुँदा तत्काल सुधार गरेर मात्र आगामी खोप अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

अनुगमन टोलीले खोप लगाउनुअघि आवश्यक पूर्वतयारी, काउन्सिलिङ, आराम स्थलको व्यवस्था तथा सहभागी किशोरीहरूको व्यवस्थापनमा पनि लापरबाही भएको जनाएको छ । विद्यालयका विद्यार्थीलाई अनावश्यक रूपमा दर्ता प्रक्रियामा संलग्न गराइएको, ‘सेफ्टी बक्स’को अभाव तथा ‘भ्याक्सिङ केरियर’को उचित प्रयोग नगरेको प्रशासनले औंल्याएको छ ।
पर्सा जिल्लाभर ३८ हजार ५३७ किशोरीलाई एचपीभी खोप लगाउने योजना अनुसार पहिलो चरणको अभियान सम्पन्न भइसकेको छ । दोस्रो चरण भने माघ ३० देखि फागुन ६ सम्म सञ्चालन गरिनेछ ।







