

नेपालगन्ज- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका सबै बिरामीलाई निशुल्क औषधी र स्तरीय उपचारको व्यवस्था सरकारले गर्ने बताएका छन् ।
बाँके, बर्दिया लगायत पश्चिम नेपालका सिकलसेल एनिमियाका बिरामीहरुको उपचारका लागि भेरी अस्पतालमा स्थापना गरिएको छुट्टै वार्ड र अस्पतालको अत्याधुनिक अपरेसन थियटरको सोमवार उदघाटन गर्दै मन्त्री पौडेलले सो बताए । उनले सिकलसेल र थालेसेमिया रोगका बिरामीको उपचारमा सरकारले कुनै पनि कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै सोही उदेश्यका साथ विभिन्न अस्पतालहरुमा छुट्टै वार्डको व्यवस्था गरिरहेको बताए ।
सिकलसेलका बिरामीका लागि भारत सरकारले उत्पादन गरेको औषधी सहयोग माग गरिएकोमा भारतले औषधी दिने सहमति जनाएपछि सबै प्रक्रिया पुरा भएर केही समयभित्रै औषधी आउन थालेको जनाउँदै मन्त्री पौडेलले अब औषधीको समस्या नहुने बताए ।



