

पाेखरा- पोखरामा मुख स्वास्थ्य सेवाको लागि महत्वपूर्ण प्रगति गर्दै कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साईन्सेस तथा कान्तिपुर डेण्टल हस्पिटलले अत्याधुनिक कोन बीम कम्प्युटेड टोमोग्राफी सीबीसीटी स्क्यान मेसिन जडान गरेको छ । याेसँगै यस क्षेत्रमा मुख स्वास्थ्य सेवाहरुको सटीकता र दक्षता बढाउँदै दन्त निदानमा कोसेढुङ्गा साबित हुने अस्पतालका जनस्वास्थ्य अधिकृत अमन केसीले बताए ।
सीबीसीटी स्क्यान मेसिन एक प्रकारको एक्सरे टेक्नोलोजी प्रयोग गरी दाँत, मुख र गिजाको विस्तृत ‘थ्रिडी’ एक्सरे गर्ने उपकरणा हाे । यो प्रणालीले स्पष्ट, व्यापक दृश्यहरु प्रदान गर्दछ जसले दन्त चिकित्सकहरुलाई मुख स्वास्थ्य अवस्थाहरुको निदान गर्न, दन्त प्रत्यारोपणको योजना बनाउन र दाँतकाे हड्डीको घनत्व र अन्य मुख स्वास्थ्यमा देखिने असामान्यताहरु जस्तै ट्युमर, सिस्टहरु पत्ता लगाउन मद्दत गर्दछ । परम्परागत ‘टूडी’ एक्सरेहरुको विपरीत सीबीसीटी स्क्यानहरुले उच्च स्पष्टता प्रदान गर्दछ ।
कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साईन्सेस तथा कान्तिपुर डेण्टल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले भने, ‘यो सीबीसीटी स्क्यान मेसिनको जडानले पोखरामा मुख स्वास्थ्य सेवामा खेल परिवर्तन गर्नेछ । सीबीसीटी स्क्यान मेसिनले हामीलाई हाम्रो समुदायमा विश्व स्तरीय निदान सेवाहरु प्रदान गर्दछ साथै हाम्रा बिरामीहरुको उपचारको गुणस्तर बृद्धि हुनेछ । यसको प्रक्रिया पीडारहित, छिटो छरितो र सुविधाजनक छ ।’

कान्तिपुर डेण्टल हस्पिटलले २५ वर्षदेखि पोखराका जनताका लागि मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा गुणस्तरिय र भरपर्दो सेवा प्रदान गर्दै आएको छ । सीबीसीटी स्क्यान मेसिनले समुदायलाई थप अत्याधुनिक प्रविधि र आधुनिक स्वास्थ्य सेवा समाधानहरु प्रदान गर्न आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।
यस प्रविधिको परिचयले दन्त प्रत्यारोपण, जरादेखीको उपचार र मुख तथा दन्त रोगको मुल्यांकन जस्ता जटिल प्रक्रियाहरु आवश्यक पर्ने बिरामीहरुलाई फाइदा पु¥याउनेछ । सीबीसीटी स्क्यान मेसिनले पोखराका जनताको लागि मुख स्वास्थ्य सेवामा एक महत्वपूर्ण कदम चाल्ने उनले बताए ।
सीबीसीटी स्क्यान मेसिनले एक्सरे र सीटी स्क्यान भन्दा कम विकिरण प्रयोग गर्दछ र दाँत, मुख र गिजाको स्पष्ट छवि दिन्छ । यसलाई इएनटी (नाक, कान घाँटी) सँग सम्बन्धित अवस्थाको निदान गर्न पनि प्रयोग गर्न सकिन्छ । कान्तिपुर डेण्टल हस्पिटल गण्डकी प्रदेशको एक मात्र डेण्टल हस्पिटल हो जसमा सीबीसीटी स्क्यान सेवा उपलब्ध छ ।



