

सुर्खेत- कर्णाली प्रदेश सरकारले दुई जिल्लामा भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण गर्ने भएको छ । गत वर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय तथा स्वास्थ्य संस्था निर्माण गर्न प्रदेश सरकारले नाम र सङ्ख्या टुङ्गो लगाएर अख्तियारी प्रदान गरेको हो ।
जाजरकोट र सल्यानमा भूकम्पबाट भत्किएका भौतिक संरचनाको विवरण आए लगत्तै प्राथमिकताका आधारमा पहिलो चरणमा भौतिक संरचना निर्माण गर्न अख्तियारी पठाएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए । यही मङ्सिर १८ गते निर्णय गरेर पठाएको उनले बताए ।
बारेकोट–३ स्थित सामुदायिक स्वास्थ्य एकाइ कठर रुससिललाई रु ५० लाखमा भवन निर्माण गर्न लागिएको छ । त्यस्तै वडा नम्बर ४ को जिरीमा रहेको सामुदायिक स्वास्थ्य एकाईलाई रु ५० लाखमा पूर्वाधार निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए।
नलगाड नगरपालिका १२ को भगवती स्वास्थ्य चौकी औलगुत्तालाई रु ५० लाख, वडा नम्बर ४ को स्वास्थ्य चौकी लहँलाई रु ४५ लाख विनियोजन गरिएको छ । भेरी नगरपालिका–२ को स्वास्थ्य चौकी बाहुनथानालाई रु ४० लाख, वडा नम्बर ६ को गंगटियालाई रु ४० लाख विनियोजन गरिएको छ । छेडागाड नगरपालिका–१३ कार्कीगाउँ स्वास्थ्य चौकीलाई रु ५० लाख, वडा नम्बर ८ को सामुदायिक स्वास्थ्य एकाई रुवलाई रु ५० लाख, वडा नम्बर ६ को सुवानाउली स्वास्थ्य एकाइलाई रु ४५ लाख रकम विनियोजन गरिएको छ ।
जुनिचाँदे गाउँपालिका–२ स्थित मजकोट स्वास्थ्य चौकी निर्माण गर्न रु ५० लाख, वडा नम्बर ११ को कोताङ स्वास्थ्य चौकी निर्माण गर्न ५० लाख विनियोजन गरिएको छ ।
स्वास्थ्य संस्थाहरुमा कुमाख गाउँपालिका–३ सामुदायिक स्वास्थ्य एकाई निर्माण गर्न रु ५० लाख, बागचौर नगरपालिका–३ को आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न रु २५ लाख विनियोजन गरिएको छ । रुकुम–पश्चिममा भने अझै निर्माणका लागि भौतिक संरचनाको टुङ्गो लागेको छैन ।



