पर्वत – जिल्लामै पहिलोपटक ‘फिजियोथेरापी’ सेवा सुरु गरिएको छ । निजी स्तरमा ठूला स्वास्थ्य संस्था नभएको पर्वतमा जिल्लाकै सबैभन्दा ठूलो र सरकारी पर्वत अस्पतालमा सेवा सञ्चालनमा ल्याइएको हो ।

अस्पताल स्थापना भएको ३५ औँ वर्षमा पर्वतसहित आसपासको क्षेत्रका बिरामीहरूलाई समेत ध्यानमा राखेर यो सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए ।

सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय स्तरोन्नतिसँगै ६० शय्या क्षमतामा चलिरहेको अस्पतालले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको हो ।
सेवा सञ्चालनको लागि हालै खुलाइएको विज्ञापनबाट ‘फिजियोथेरापिस्ट’ डा प्रमीला लामिछाने नियुक्त भई आएपछि संरचना व्यवस्थापनको काम सकेर सेवा सुरु गरिएको डा बास्तोलाको भनाइ छ ।







