

काठमाडाैं- रौतहटका २३ वर्षीय युवक पेसाले अहेब हुन् । काठमाडौंको एक अस्पतालमा काम गर्दै आइरहेका उनी सामाजिक सञ्जालमा पनि सक्रिय छन् । अनलाइनबाटै सेवा दिने भएकाले धेरैले उनलाई घरमै बोलाउँछन् । उनी घरमै पुगेर बिरामीलाई ड्रेसिङ गरिदिने र आवश्यक औषधि उपलब्ध गराइदिन्थे ।
सोही क्रममा ६ मंसिर गते उनलाई वर्षा दर्जीले घरमा बोलाइन् । दर्जीले घाउको ड्रेसिङ गरिदिन कौशलटारमा बोलाएकी थिइन् । तर, त्यहाँ पुग्दा वर्षाको खुट्टामा केही घाउ थिएन । वर्षाले ड्रेसिङ गर्नुपर्ने अर्कै व्यक्ति भएको बताइएपछि अहेब उनको कोठामाा पुगे ।
त्यहाँ पुगेर युवतीले युवकलाई कोठामा एकछिन बस्नु है भन्दै बाहिर निस्किइन् । एकछिनमा फेरि आएर उनले आफ्नो कपडा फुकालिन् र युवकको कपडा पनि खोलिन् । तर, युवतीको व्यवहार अस्वभाविक लागेपछि युवक कपडा लगाएर कोठाबाट निस्कन खोजे ।
युवतीलो रोक्ने क्रममा कोठामा अर्की युवती प्रकट भइन् । उनी थिइन् समृद्धि मगर । युवती आउनेवित्तिकै वर्षाले अहेबले आफूलाई जबरजस्ती करणी गरेको बताइन् । त्यस लगत्तै दुवै युवतीले जबरजस्ती करणी गरेको उजुरी दिन्छौं भन्दै धम्की दिए । तर, युवक डर नमानि त्यहाँबाट निस्किए ।
भोलिपल्ट समृद्धि र दिपेन्द्र दर्जी नामक युवक अहेबले काम गर्ने अस्पतालसम्मै पुगे । त्यहाँ पुगेर उनीहरुले १८ लाख देउ नत्र प्रहरीमा उजुरी दिन्छौं भन्दै धम्की दिए । बलात्कारजस्तो मुद्दा लगाउने धम्कीपछि अहेब उनीहरुले भनेजति रकम दिन मञ्जुर भए । तर, युवकले धेरै अनुरोध गरेपछि उनीहरु रकम घटाएर ८ लाख लिने कुरामा सहमत भए ।
सबैभन्दा पहिले अहेबले २५ हजार रुपैयाँ नगद बुझाए । त्यसपछि २५ हजार अनलाइनबाट पठाए । त्यस लगत्तै वर्षा दर्जीको नाममा चेक काट्न लगाइयो । उनले ७५ हजार रुपैयाँको चेक काटिदिए ।
अत्ति भएपछि अहेबले आफू कार्यरत अस्पताललाई घटनाको वृतान्त सुनाए । त्यसपछि मात्रै उनले आफू ‘हनीट्र्याप’मा परेको चाल पाए । त्यसपछि अन्ततः उनले प्रहरीमा उजुरी दिए ।
उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरेको थियो । प्रहरीले ११ मंसिरमा ती अहेबकै सहयोगमा रकम दिने बहानामा बोलाइएका दीपेन्द्र दर्जी र समृद्धि मगरलाई समातेको थियो । त्यसको भोलिपल्ट वर्षा दर्जीलाई पनि पक्राउ गरेको थियो । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार यस घटनामा अर्का एक व्यक्ति पनि संलग्न रहेको देखिएको छ ।
२५ वर्षीया समृदी मगर इलाम माई नगरपालिका–१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्दै आएकी थिइन् । भने, काभ्रे भुम्लु गाउँपालिका–४ कोशीपारीका ३० वर्षीय दिपेन्द्र दर्जी काठमाडौं महानगरपालिका–१५ स्वयम्भूमा बस्छन् । २५ वर्षीया बर्षा दर्जी भने भक्तपुर मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्दै आएकी छिन् ।
उनीहरूलाई सबैमाथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।



