

काठमाडौं- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको हो ।
न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो । सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ ।
सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि साइबर अपराधमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो । यसअघि आइतबार मंसिर ९ गते सर्वोच्च अदालतले विपक्षीलाई बन्दीसहित उपस्थित हुन आदेश दिएको थियो। मंगलबार प्रसाईंलाई अदालतमा उपस्थित गराइएको थियो ।



