

काठमाडौं- काठमाडौंको महाराजगंजस्थित कान्ति बाल अस्पतालकाे लापरबाहीले एक शिशुको शरीरभित्र ७ दिनसम्म भाँचिएको सुई रहेकाे खुलेकाे छ । कान्ति बाल अस्पतालका निर्देशक डा.पंकज राय नेतृत्वको टिमले ती नवजात शिशुको शरीरभित्रै सुई छाडि दिएका हुन् ।
सिन्धुली तीन पाटन–४ कि रिमा सुस्लिङ्ग गत कार्तिक २६ गते १३ दिनकी छोरी उपचार गराउन कान्ति बाल अस्पताल पुगेकी थिइन् । डाक्टरहरुले नवजात शिशुलाई जन्डिस देखिएको बताए । सो क्रममा परीक्षणका लागि बच्चाको रगत निकालियो । बच्चाको थाईबाट रगत निकाल्ने क्रममा सुई शरीरभित्र नै भाँचिएकाे थियाे । तर, डाक्टरहरुले कुनै वास्ता नै गरेनन् ।
कार्तिक २९ गते अस्पतालले डिस्चार्ज दिएपछि बच्चा लिएर रिमाका सिन्धुली गइन् । तर, घर पुर्याएपछि बच्चा निरन्तर रोयाे । बच्चालाई तेल लगाइदिने रगत निकालिएको ठाउँमा सुन्निएको देखियाे । त्यसपछि बर्दिवासको एक अस्पतालमा गएर भिडिओ एक्सरे गरी हेर्दा बच्चाको शरीरभित्र सुई भाँचिएको पत्ता लागेको रिमाले बताइन् ।
बच्चाको शरीरभित्र सुई भाँचिएको पत्ता लागेकै दिन राति आफू काठमाडौं आइपुगेर कान्ति बाल अस्पतालाई जानकारी गराउँदा कुनै वास्ता नै नगरेको उनको गुनासो छ । त्यसपछि बसुन्धरास्थिति इसान अस्पालमा ल्याएर अप्रेसन गरेर सुई निकालिएकाे उनले बताइन् ।
रिमाले दोषीमाथि छानविन गरी कारबाहीको माग गरेकी छन् । उनले बच्चाको उचारको क्रममा लागेको खर्चसमेत भराई पाउनुपर्ने बताएकी छन् । उनले कान्ति अस्पतालले अझै बेवास्ता गरे न्यायिक उपचार खोज्ने बताइन् ।




