
काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले दर्तावाल चिकित्सकहरूलाई आफ्नो एनएमसी रजिस्ट्रेसन सर्टिफिकेट केवल आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्थामा मात्र प्रयोग गर्नुपर्ने निर्देशन दिएको छ। काउन्सिलले मंगलबार सूचना जारी गर्दै चिकित्सकहरूको नाम वा दर्ता प्रमाणपत्र कार्यरत नभएका क्लिनिक वा अस्पतालमा राखिँदा सर्वसाधारणमा भ्रम उत्पन्न हुन सक्नेछ र यसले व्यावसायिक आचारसंहिताको उल्लंघन गर्न सक्ने बताएकाे छ।
कतिपय अवस्थामा चिकित्सकको विवरण गलत संस्थामा प्रयोग भइरहेको पाइएपछि बिरामीहरू भ्रममा पर्ने जोखिम बढेको सूचनामा उल्लेख छ। यसले भविष्यमा कानुनी र प्रशासनिक समस्या पनि निम्त्याउन सक्ने भएकाले काउन्सिलले चिकित्सकहरूलाई सचेत रहन आग्रह गरेको छ।
एनएमसीले चिकित्सकहरूलाई आफ्नो नाम, प्रमाणपत्र र दर्ता नम्बर आफू कार्यरत नरहेका पुराना स्वास्थ्य संस्थाबाट तुरुन्त हटाउन निर्देशन दिएको छ। साथै साइनबोर्ड, विज्ञापन तथा दर्ता पुस्तकमा आफ्नो विवरण सही रूपमा प्रयोग भइरहेको छ कि छैन भन्ने नियमित निगरानी गर्न समेत भनिएको छ।
एनएमसी रजिष्ट्रार डा. सतिस कुमार देवले चिकित्सकहरूलाई व्यावसायिक नैतिकता कायम राख्दै जिम्मेवार रूपमा आफ्नो विवरण प्रयोग गर्न विशेष अनुरोध गरेका छन्।



