
कैलाली – कैलालीस्थित सेती प्रादेशिक अस्पतालले सञ्चालन गरेको स्टाफ नर्स र अनमी पदको परीक्षा प्रश्नपत्र नै परीक्षा अघि बाहिरिएको आरोपसँगै विवादमा परेको छ।
चैत ७ गते शनिबार अस्पतालले स्टाफ नर्स र अनमीका लागि लिखित परीक्षा सञ्चालन गरेको थियो। बिहान ९ बजेबाट स्टाफ नर्स र दिउँसो ३ बजेबाट अनमीको परीक्षा लिइएको थियो। तर, परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र टिकमार्कसहित बाहिरिएको दाबी गरिएको छ।
स्रोतका अनुसार १८ सिटका लागि सञ्चालन गरिएको अनमीको परीक्षा दिउँसो ३ बजे तय गरिएको भए पनि सो समयभन्दा अगाडि नै प्रश्नपत्र बाहिरिएको थियो।
यता परीक्षा सञ्चालन समितिका संयोजक तथा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेसँग सम्पर्क हुन सकेको छैन। उनले आफू बिरामी रहेको जनाउँदै आइतबारदेखि डा. खगेन्द्र भट्टलाई निमित्त जिम्मेवारी दिएका छन्। निमित्त मेसु भट्टले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
परीक्षा सञ्चालन समितिका सदस्य तथा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले भने प्रश्नपत्र चुहावटको आरोप अस्वीकार गरेका छन्। उनले परीक्षा पूर्ण रूपमा निष्पक्ष रूपमा सम्पन्न भएको दाबी गर्दै प्रश्नपत्र बाहिरिएको भन्ने कुरा निराधार भएको बताएका छन्।
उनका अनुसार परीक्षा लोकसेवा आयोगको स्तरभन्दा कम नभएको र कसैको स्वार्थ पूरा नभएपछि यस्ता हल्ला फैलाइएको हुन सक्ने बताएका छन्।
सेती प्रादेशिक अस्पतालले २१ जना स्टाफ नर्स पदपूर्तिका लागि परीक्षा लिएको थियो, जसमा ३९ जना उम्मेदवार उत्तीर्ण भएका छन्। ती उम्मेदवारहरूको अन्तर्वार्ता चैत १२ गते बिहानदेखि सुरु हुने तय गरिएको छ।
त्यस्तै, १८ सिटका लागि लिइएको अनमी परीक्षामा २८ जना लिखितमा उत्तीर्ण भएका छन्। उनीहरूको अन्तर्वार्ता चैत १८ गते बिहान १० बजेदेखि सञ्चालन गरिने अस्पतालले जनाएको छ।


