
काठमाडौँ – कलेजो शरीरको अत्यन्त महत्वपूर्ण अंग हो, जसले शरीरमा विषाक्त पदार्थ हटाउनेदेखि पाचन प्रक्रियासम्म महत्वपूर्ण भूमिका खेल्छ। तर विभिन्न कारणले कलेजो गम्भीर रूपमा बिग्रिएपछि अन्तिम विकल्पका रूपमा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गर्नुपर्ने अवस्था आउँछ।
किष्ट मेडिकल कलेजमा कार्यरत कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंह का अनुसार, कलेजो प्रत्यारोपण भनेको खराब भइसकेको कलेजो हटाएर नयाँ कलेजो राख्ने प्रक्रिया हो।
कलेजो किन बिग्रिन्छ ?
कलेजो बिग्रने प्रमुख कारण सिरोसिस हो, जुन निको नहुने रोग मानिन्छ। यस रोगमा कलेजो क्रमशः क्षतिग्रस्त हुँदै जान्छ र अन्ततः ज्यानै जोखिममा पर्न सक्छ।
त्यसैगरी, कलेजोमा क्यान्सर देखिँदा पनि प्रत्यारोपण गर्नुपर्ने हुन्छ। हेपाटाइटिस बी, हेपाटाइटिस सी, फूड प्वाइजनिङ जस्ता कारणले एक्कासि कलेजो बिग्रिने अवस्था पनि देखिन्छ, जसमा पनि प्रत्यारोपण आवश्यक पर्न सक्छ।
कति जोखिम हुन्छ ?
प्रत्यारोपण एक जटिल शल्यक्रिया भएकाले केही जोखिम अवश्य हुन्छ। तर डा. सिंहका अनुसार, “जोखिमभन्दा फाइदा धेरै हुन्छ, विशेषगरी जब औषधिले काम नगर्ने र बिरामीको ज्यान जोखिममा परेको हुन्छ।”
कलेजो कसरी पाइन्छ ?
नेपाल तथा दक्षिण एसियामा प्रायः नजिकको आफन्तबाट कलेजो दान गर्ने प्रचलन छ। मानव अंग प्रत्यारोपण ऐनअनुसार १८ वर्षदेखि ५५ वर्षसम्मका नातेदारबाट कलेजो लिन पाइन्छ।
कहिलेकाहीँ मस्तिष्क मृत (ब्रेन डेथ) भएका व्यक्तिबाट पनि कलेजो निकालेर प्रत्यारोपण गरिन्छ, तर यसबारे चेतना कम भएकाले यस्तो अभ्यास अझै सीमित छ।
शल्यक्रिया प्रक्रिया कस्तो हुन्छ ?
डोनर (कलेजो दिने व्यक्ति) लाई कुनै जोखिम नहोस् भनेर विस्तृत परीक्षण गरिन्छ। त्यसपछि करिब ८ घण्टाको शल्यक्रिया गरेर डोनरबाट कलेजोको भाग निकालिन्छ।
बिरामीमा भने करिब १२ घण्टासम्म शल्यक्रिया गरेर नयाँ कलेजो प्रत्यारोपण गरिन्छ।
प्रत्यारोपणपछि डोनरलाई करिब ७ दिनमा डिस्चार्ज गरिन्छ भने बिरामीलाई १५–२० दिनमा डिस्चार्ज गरिन्छ।
खर्च कति लाग्छ ?
नेपालमा कलेजो प्रत्यारोपणको खर्च करिब ३५ लाख रुपैयाँ पुग्ने गर्छ। यसमा औषधि, उपकरण, चिकित्सक तथा अस्पतालको खर्च समावेश हुन्छ। हाल सरकारबाट यसका लागि पर्याप्त आर्थिक सहयोग नपाइएकाले बिरामीले अधिकांश खर्च आफैं व्यहोर्नुपर्ने अवस्था छ।
नेपालमा अवस्था कस्तो छ ?
डा. सिंहका अनुसार अहिले नेपालमै कलेजो प्रत्यारोपण सेवा सहज रूपमा उपलब्ध भइसकेको छ। सफलताको दर पनि उत्साहजनक छ। ९० प्रतिशतभन्दा बढी केस सफल भएका छन्। यद्यपि, केही बिरामी संक्रमण वा अन्य जटिलताका कारण बच्न नसकेको उदाहरण पनि छन्।
कसरी जोगाउने कलेजो ?
-मदिरापान नियन्त्रण गर्नु
-स्वस्थ खानपान अपनाउनु
-नियमित जीवनशैली अपनाउनु अत्यन्त आवश्यक छ।
कलेजो बिग्रिसकेपछि प्रत्यारोपण अन्तिम विकल्प भए पनि, समयमै सचेतना अपनाएर यस्तो अवस्था आउन नदिनु नै सबैभन्दा राम्रो उपाय हो।


