
डडेल्धुरा – डडेल्धुरा मेडिकल कलेजले आगामी शैक्षिक सत्रदेखि एमबीबीएस कक्षा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक तयारीलाई अन्तिम चरणमा पुर्याएको छ।
डडेल्धुरा अस्पताललाई तीन सय शैय्याको अस्पतालका रूपमा स्तरोन्नति गर्ने स्वीकृति प्राप्त हुनेबित्तिकै एमबीबीएस कार्यक्रम सञ्चालनका लागि अनुमति पाइने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत स्वास्थ्य विज्ञान संकायको डीन कार्यालयले जनाएको छ।
हाल मेडिकल कलेजमा ब्याचुलर्स इन मेडिकल ल्याब टेक्नोलोजी (बीएमएलटी), बीएससी नर्सिङ र ब्याचुलर्स इन पब्लिक हेल्थ (बीपीएच) कार्यक्रम सञ्चालनमा छन्, जसमा ७६ जना विद्यार्थी अध्ययनरत छन्। बीएमएलटी तीन वर्षदेखि सञ्चालनमा रहेको छ भने बीएससी नर्सिङ र बीपीएच गत शैक्षिक सत्रदेखि सुरु गरिएको हो।
स्वास्थ्य विज्ञान संकायका डीन डा. हेमनाथ जोशीका अनुसार एमबीबीएस कक्षा सञ्चालनका लागि अस्पतालको स्तरोन्नति अपरिहार्य छ। “हाल एक सय शैय्याको क्षमता रहेको अस्पताललाई तीन सय शैय्यामा विस्तार गरिएपछि मात्र अनुमति प्राप्त हुन्छ,” उनले बताए।
अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाका अनुसार स्तरोन्नतिसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी कागजात स्वास्थ्य सेवा विभागमा पेश गरिसकिएको छ। विभागले माग गरेका थप कागजातसमेत पठाइसकिएको र अब ती कागजात स्वास्थ्य मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेश हुने चरणमा रहेको उनले जानकारी दिए। निर्वाचनका कारण निर्णय ढिला भए पनि नयाँ मन्त्रिपरिषदबाट चाँडै स्वीकृति आउने अपेक्षा गरिएको छ।
मेडिकल कलेज सञ्चालनका लागि करिब साढे चार अर्ब रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। डा. सुधा देवकोटाका अनुसार डीपीआरअनुसार भौतिक पूर्वाधार विकास, आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनको काम समानान्तर रूपमा अगाडि बढिरहेको छ।
एमबीबीएस कक्षा सञ्चालनका लागि आवश्यक थप १ सय ९१ रोपनी जग्गा उपलब्ध गराउने निर्णय अमरगढी नगरपालिकाले गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले काठमाडौँमै बसेर अपुग कागजात संकलन र पेश गर्ने काम भइरहेको जानकारी दिँदै चाँडै अनुमति प्राप्त हुने विश्वास व्यक्त गरे।
हाल कलेजका लागि तुफानडाँडामा ८४ रोपनी जग्गा सुदूरपश्चिम विश्वविद्यालयको नाममा प्राप्त भइसकेको छ भने अस्पतालको नाममा २३४ रोपनी जग्गा छ। थप जग्गा व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।
कलेजको डीपीआर तयार भई छात्रावास र प्रशासनिक भवन निर्माण कार्य सुरु भइसकेको छ। चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ विनियोजन भई काम अगाडि बढाइएको जनाइएको छ।
डीन कार्यालय र अस्पताल प्रशासनले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै एमबीबीएस कक्षा सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्ने तयारी गरिरहेका छन्।
डडेल्धुरा प्राकृतिक रूपमा अध्ययन–अध्यापनका लागि उपयुक्त स्थान भएकाले देशभरका विद्यार्थीहरू यहाँ अध्ययन गर्न आकर्षित हुने विश्वास गरिएको छ। साथै, सुदूरपश्चिमका सात पहाडी जिल्लाका विद्यार्थीका लागि विशेष कोटा व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ।
यसअघि मन्त्रिपरिषद्को २०७८ माघ १० गतेको निर्णयअनुसार अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने भनिए पनि बजेट अभावका कारण एमबीबीएस कार्यक्रम सञ्चालन हुन सकेको थिएन। हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौतापछि रणनीतिक रूपमा योजना कार्यान्वयनमा ल्याइएको छ।


