
दाङ- काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालबाट उपलब्ध हुँदै आएको उपचार सेवा अब दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि प्रदान गरिने भएको छ। मंगलबार दुवै संस्थाबीच सेवा विस्तारसम्बन्धी सम्झौता भएको हो।
सम्झौतापत्रमा निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिष्ट्रार प्रा. श्याम लम्सालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार निजामती कर्मचारी र उनीहरूका आश्रित परिवारले निजामती कर्मचारी अस्पतालबाट पाउँदै आएका उपचार सुविधाहरू अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै प्राप्त गर्न सक्नेछन्।
सम्झौताअनुसार बहालवाला निजामती कर्मचारी तथा उनीहरूका आश्रित परिवार—बुवा, आमा, श्रीमान्/श्रीमती र २१ वर्ष मुनिका दुई सन्तान गरी बढीमा ६ जनाले उपचार सेवामा ४० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ। त्यस्तै, अवकाशप्राप्त निजामती कर्मचारीले सबै प्रकारका सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन्। तर, ओपिडी सेवा, एम्बुलेन्स सेवा तथा औषधिमा भने उक्त छुट लागू नहुने जनाइएको छ।
उपचार सेवा लिनका लागि सम्बन्धित कर्मचारीको विवरण निजामती किताबखानामा दर्ता भएको हुनुपर्नेछ। अस्पतालले सफ्टवेयर प्रणालीमार्फत किताबखानाको अप्टिकल फाइबर नेटवर्कसँग जोडेर कर्मचारीको विवरण रुजु गर्नेछ। यदि विवरण दर्ता नभएको अवस्थामा भने कार्यालय प्रमुखको सिफारिस अनिवार्य गरिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी २०८३ वैशाख १ गतेदेखि उक्त सेवा सुरु गर्ने योजना बनाएको छ। प्रतिष्ठानका निमित्त उपकुलपति श्याम लम्सालले देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये निजामती कर्मचारीका लागि यस्तो पहल गर्ने राप्ती पहिलो भएको दाबी गरे।
निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मीले देशका सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनाअनुसार राप्तीसँग सम्झौता गरिएको जानकारी दिए।
सम्झौताअनुसार उपचार सेवाका अतिरिक्त दुवै संस्थाले स्वास्थ्य जनशक्ति तालिम र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा समेत सहकार्य गर्ने उल्लेख गरिएको छ। पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम र विशिष्टीकृत अस्पताल सेवाको विस्तारलाई तीव्रता दिँदै आएको छ।



