
काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिप्रति राज्यले अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै नेपाल सरकारका तर्फबाट क्षमा याचना गरेका छन्।
२८औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले कुष्ठरोग स्वास्थ्यसँग सम्बन्धित समस्या भए पनि यसको सामाजिक, मनोवैज्ञानिक र आर्थिक प्रभाव अझ गम्भीर हुने गरेको बताए। प्रभावित व्यक्तिहरूले भोग्दै आएका जटिल अवस्था र पीडालाई सम्बोधन गर्न राज्यले गर्नुपर्ने जति काम गर्न नसकेको स्वीकार गर्दै उनले सरकारका तर्फबाट क्षमा मागेका हुन्।
उनले कुष्ठरोग प्रभावित व्यक्तिहरूले दैनिक जीवनमा आफ्नो हकअधिकार र आत्मसम्मानका लागि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै त्यस आवाजलाई सम्मान गर्नुपर्नेमा जोड दिए। उनका अनुसार यस्तो आवाज नेपालमा मात्र सीमित नभई विश्वभर नै सामूहिक आन्दोलनको रूपमा विस्तार हुँदै गएको छ, जसको उदाहरणका रूपमा उनले उक्त कार्यक्रमलाई उल्लेख गरे।
मन्त्री सिन्हाले कुष्ठरोग निवारण गर्न सकिने स्वास्थ्य समस्या भए पनि रोगप्रतिको सामाजिक उपेक्षा र विभेदका कारण प्रभावित व्यक्तिहरू अझै पनि अनेक कठिनाइ भोग्न बाध्य भएको बताए। समाजमा देखिने यस्तो व्यवहार परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले यसको सुरुवात शिक्षाबाटै हुनुपर्ने धारणा राखे।
उनका अनुसार समाजमा रहेको विभेद, उपेक्षा र गलत धारणा अन्त्य गर्न सचेतना अभिवृद्धि र शिक्षामार्फत सामाजिक व्यवहार सुधार गर्नु अत्यावश्यक रहेको छ।



