
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम समक्ष मन्त्रालय र मातहतका निकायहरूको सार्वजनिक खरिद व्यवस्थापनलाई थप पारदर्शी, मितव्ययी र नतिजामुखी बनाउन गठित उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझाएको छ ।
मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलले प्रतिवेदन मन्त्री समक्ष बुझाएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । प्रतिवेदनमा खरिद गुरुयोजना, ई–जीपीको पूर्ण कार्यान्वयन र मन्त्रालयमा खरिद गरिएका उपकरणहरूको कम्तीमा पाँच वर्षको मर्मत सम्भार सम्झौता अनिवार्य गर्नुपर्ने जस्ता कुरा समेटिएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।
प्रतिवेदन बुझ्दै मन्त्री डा गौतमले प्रतिवेदनमा समेटिएका सुझावहरूलाई कार्य योजना बनाएर तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रको खरिद प्रणालीमा रहेका विगतका समस्यालाई समाधान गरी नागरिकले पाउने स्वास्थ्य सेवाको गुणस्तरमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको बताए ।
मन्त्रालयले मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा चुमनलाल दासको संयोजकत्वमा पूर्व–सचिव सुरेश प्रधान, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका पूर्वनिर्देशक डा भीमसिंह तिंकरी रहेको कार्यदल गठन गरेको थियो ।



