
काठमाडौं – कलेजो (लिभर) र प्यानक्रियाजसम्बन्धी रोग नेपालमा बढ्दो समस्याका रूपमा देखिन थालेको छ । जीवनशैली, खानपान र मदिरा सेवनको बढ्दो प्रयोगले यी अंगमा गम्भीर समस्या देखिन थालेको विशेषज्ञहरूको भनाइ छ ।
बीएण्डबी अस्पतालमा कार्यरत कलेजो, पित्तनली तथा प्यानक्रियाजका विशेषज्ञ तथा सर्जन प्रदीप साप्कोटाका अनुसार कलेजोका समस्या मुख्यतः दुई प्रकारका हुन्छन्, जन्मजात रूपमा आउने र पछि जीवनशैली वा रोगका कारण हुने । “जन्मजात रूपमा कलेजोको बनावट बिग्रिएको हुन सक्छ, तर अधिकांश समस्या पछि हेपाटाइटिस, सिरोसिस, बोसो जम्ने, क्यान्सर तथा पेटमा पानी जम्ने कारणले देखिन्छ,” उनले भने ।
कलेजो स्वस्थ राख्न के गर्ने ?
कलेजोलाई स्वस्थ राख्न नियमित व्यायाम, सन्तुलित आहार, अत्यधिक बोसोयुक्त खाना नखाने र मदिरा सीमित मात्रामा सेवन गर्नुपर्ने डा. साप्कोटाको सुझाव छ ।
“बिहान एक कप कालो कफि सेवन गर्नुले पनि कलेजोको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अध्ययनहरूले देखाएका छन्,” उनले थपे ।
प्यानक्रियाज क्यान्सर सबैभन्दा गम्भीर
प्यानक्रियाज पेटको भित्रपट्टि रहेको अत्यन्तै महत्वपूर्ण अंग हो । यससम्बन्धी सबैभन्दा ठूलो समस्या प्यानक्रियाज क्यान्सर रहेको डा. साप्कोटाको भनाइ छ । “प्यानक्रियाज क्यान्सर भएमा बिरामी धेरै समय बाँच्ने सम्भावना कम हुन्छ । अत्यधिक मदिरा सेवनका कारण प्यानक्रियाज सुन्निने समस्या देखिन्छ भने पानीका फोका (सिस्ट) पनि अर्को समस्या हुन्,” उनले बताए ।

नेपालको परिवेशमा लिभर क्यान्सर र प्यानक्रियाजसम्बन्धी समस्या उल्लेखनीय रूपमा देखिने गरेको र यी रोगका शल्यक्रिया अत्यन्त जटिल हुने डा. साप्कोटाको भनाइ छ । “शल्यक्रिया सफल भए पनि रोगको गम्भीरताका कारण धेरै बिरामी दीर्घकालीन रूपमा बाँच्न सक्दैनन्,” उनले स्पष्ट पारे ।
प्रत्यारोपणमा पहुँच अझै चुनौती
नेपालमा कलेजो तथा प्यानक्रियाज प्रत्यारोपण अझै सर्वसुलभ हुन नसकेको डा. साप्कोटाले बताए । उपलब्ध तथ्यांकअनुसार हरेक वर्ष करिब ३ हजार बिरामी अन्तिम चरणको कलेजो फेलरमा पुगेर प्रत्यारोपण आवश्यक पर्ने अवस्थामा पुग्छन्, तर सहज र ठोस रूपमा प्रत्यारोपण गर्ने वातावरण अझै बनेको छैन ।
“सरकारले मिर्गौला प्रत्यारोपणलाई जस्तै कलेजो प्रत्यारोपणलाई पनि प्राथमिकतामा राख्नुपर्छ,” उनले जोड दिए ।
अंगदानमा जनचेतनाको कमी
अंगदानप्रति जनचेतनाको अभाव र व्यवस्थापन कमजोरीकै कारण चाहँदा–चाहँदै पनि धेरैले अंगदान गर्न नपाएको अवस्था रहेको डा. साप्कोटाको भनाइ छ ।
“हरेक वर्ष सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये कम्तीमा एक तिहाइ व्यक्तिबाट पनि अंगदान गर्न सकेमा धेरै बिरामीको ज्यान जोगाउन सकिन्छ,” उनले बताए ।
डा. साप्कोटाका अनुसार हाल बीएण्डबी अस्पतालमा कलेजो तथा प्यानक्रियाजसँग सम्बन्धित सबै किसिमका उपचार र जटिल शल्यक्रिया उपलब्ध छन् । “यहाँ आवश्यक विशेषज्ञ, प्रविधि र उपकरण भएकाले कलेजो तथा प्यानक्रियाजका जटिल रोगको उपचार सम्भव छ,” उनले भने ।


