
बागलुङ– लामो समयको प्रतीक्षापछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स–प्लाज्मा) उत्पादन सुरु भएको छ। धवलागिरि प्रादेशिक अस्पतालअगाडि रहेको रक्तसञ्चार केन्द्रमा आवश्यक उपकरणको अभावका कारण सेतो रगत उत्पादन हुन नसक्दा बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो।
लामो प्रयास र करिब एक करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न प्रयोगशाला स्थापना गरिएसँगै आइतबारदेखि सेतो रगत उत्पादन सुरु गरिएको हो। नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यका अनुसार विभिन्न निकायको सहयोगमा झण्डै एक करोड रुपैयाँ लगानी गरी प्रयोगशाला स्थापना गरिएको हो।
उनका अनुसार केन्द्रमा तालिमप्राप्त प्रयोगशाला प्राविधिकको समेत व्यवस्था मिलाइएको छ। अब जटिल प्रकृतिका बिरामीलाई आवश्यक पर्ने प्लेटलेट्स–प्लाज्मा बागलुङमै उपलब्ध हुने भएपछि धवलागिरि प्रादेशिक अस्पतालबाट रेफर हुने बिरामीको सङ्ख्या घट्ने अपेक्षा गरिएको छ।
धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख डा. किरण तिवारीका अनुसार विशेषज्ञ सेवा तथा जटिल रोगको उपचारका लागि सेतो रगत अत्यावश्यक हुन्छ। रक्तसञ्चार केन्द्रमा सेतो रगत नपाइँदा जटिल अवस्थाका बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता रहेकोमा आइतबारदेखि उक्त समस्या हटेको उनले जानकारी दिए।
गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले दुई वर्षअघि बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पोनेन्ट सेन्ट्रिफ्युज) अहिले प्रयोगमा आएको छ। साथै प्रदेश सरकारको १५ लाख, बागलुङ नगरपालिकाको ५ लाख, जैमिनी नगरपालिकाको ३ लाख, गलकोट नगरपालिकाको २ लाख र बरेङ गाउँपालिकाको १ लाख ५० हजार गरी कुल २६ लाख ५० हजार रुपैयाँ लागतमा अन्य उपकरण खरिद गरिएको थियो।
उपकरण आए पनि प्रयोगशालाको पूर्वाधार निर्माण नहुँदा काम रोकिएको अवस्थामा बागलुङ समाज जापानले १३ लाख ५० हजार रुपैयाँ सहयोग गरेपछि प्रक्रिया अघि बढेको केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताए। उपकरण, भवन र अन्य सहयोगसहित झण्डै एक करोड रुपैयाँ लागतमा सेतो रगत उत्पादन सुरु गरिएको उनले जानकारी दिए।
विशेषगरी डेङ्गी सङ्क्रमण भएर प्लेटलेट्स घटेका, सर्पदंश, शल्यक्रिया तथा अत्यधिक रक्तश्राव भएका बिरामीलाई सेतो रगत अत्यावश्यक पर्ने डा. तिवारीले बताए। उनले सेतो रगतकै अभावमा पोखरा वा काठमाडौँ पठाउनुपर्ने बाध्यता अब अन्त्य भएको उल्लेख गरे। चिकित्सकका अनुसार बिरामीको प्लेटलेट्स ३० हजारभन्दा तल झरेमा सेतो रगत आवश्यक हुने गर्दछ।


