
नेपालगन्ज– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्माले बाँकेमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि भेरी अस्पतालमा प्रसूति सेवाको चाप अस्वाभाविक रूपमा बढेको विषयलाई गम्भीरताका साथ लिएको बताएकी छन्।
भेरी अस्पताल नेपालगन्जको निरीक्षणपछि मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री डा. शर्माले शय्या अभावका कारण बिरामीलाई उपचार दिन समस्या भइरहेको चिकित्सकहरूको गुनासोलाई गम्भीर रूपमा लिइएको उल्लेख गरिन्। अस्पतालमा शय्या संख्या बढाउनुपर्ने विषयमा कुनै दुविधा नरहेको उनको भनाइ थियो।
“देशको वर्तमान आर्थिक अवस्थाका कारण नयाँ संरचना निर्माणमा केही चुनौती अवश्य छन्,” मन्त्री डा. शर्माले भनिन्, “तर देखिएका समस्याको समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्नेछ।”
मन्त्री डा. शर्माले कार्डियोलोजी विभागका लागि आवश्यक उपकरण उपलब्ध गराउने विषयमा पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। भेरी अस्पतालबाट प्रदान हुँदै आएको डायलासिस सेवा विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने उनको भनाइ थियो।
सिटी स्क्यान मेसिनको अभावका कारण अस्पतालको सेवा प्रभावित भएको चिकित्सकहरूको गुनासोतर्फ ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री डा. शर्माले उक्त उपकरण अत्यावश्यक रहेको र यसको व्यवस्थापनका लागि पहल गरिने विश्वास दिलाइन्।
यसअघि मन्त्री डा. शर्माले अस्पतालका विभिन्न वार्ड, इमर्जेन्सी लगायतका विभागहरूको निरीक्षण गरेकी थिइन्। निरीक्षणका क्रममा उनले अस्पतालको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी थिइन्।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालको सेवा प्रवाह, विद्यमान समस्या र चुनौतीबारे प्रस्तुति दिँदै प्रसूति गृहको डिपीआर तयार भइसकेकाले त्यसलाई कार्यान्वयन गर्न आग्रह गरे।
भेरी अस्पतालको निरीक्षणअघि मन्त्री डा. शर्माले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल तथा नेपालगन्जको सञ्जीवनी शिक्षण अस्पतालको पनि निरीक्षण गरेकी थिइन्।


