
काठमाडौँ- नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या चिन्ताजनक देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१–८२ अनुसार, १५–४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिलाहरू र ४१.८ प्रतिशत पुरुषहरूले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ।
यस्तै, ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षको उमेर नपुग्दै नै चुरोट वा अन्य सुर्तीजन्य पदार्थ सेवन सुरु गरेको पाइएको छ। यसले किशोर अवस्थामा नै लत बस्ने प्रवृत्ति बढ्दै गएको देखाउँछ।
स्वास्थ्य विज्ञहरूको अनुसार, कम उमेरमै सुर्तीजन्य पदार्थको सेवन सुरु गर्नु दीर्घकालीन रूपमा क्यान्सर, मुटुरोग, श्वासप्रश्वास समस्या र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने जोखिम बढाउँछ।
यद्यपि सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कानून र नीति बनाएको भए पनि कार्यान्वयन कमजोर भएका कारण किशोर र युवापुस्ता सजिलै यस्ता पदार्थको पहुँचमा पुगेको सरोकारवालाहरू बताउँछन्।
राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणले अब सरकार, विद्यालय, अभिभावक र समाज सबै मिलेर किशोर पुस्तालाई सुर्तीजन्य पदार्थबाट जोगाउन प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक रहेको औँल्याएको छ।


